राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्ता सकिएको छ।
उनीहरुबीच बिहीबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा डेढ घन्टा लामो कुराकानी भएको थियो।
भेटमा राष्ट्रपति भण्डारीले दाहाललाई राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनु पर्ने बताएकी थिइन्। राष्ट्रपति कार्यालयका अनुसार वाम गठबन्धन बनाएपछि माओवादी र एमालेले बहुमत ल्याएकाले अहिलेको समस्याको समाधान पनि दुबै पार्टीले गर्नुपर्ने बताइन्।
दाहालले राष्ट्रपतिलाई के सुझाव दिए भन्ने खुलेको छैन। तर उनले कांग्रेसपनि समावेश हुने राष्ट्रियसभा चाहिने धारणा सार्वजनिक गरिसकेका छन्।
दाहालको निजीसचिवालयले पनि अध्यादेशलाई लिएर कांग्रेस एमालेबीच सहमति हुने गरि उनले काम गरिरहेको बताएको छ।
बुधवार केपी ओलीलाई भेटेर पनि दाहालले अध्यादेशबारे छिटो सहमति जुटाउन भनेका थिए।