मन्त्रीहरूले मुख्यसचिवकै निर्देशनमा सचिवहरुले हेपेको गुनासो मन्त्रिपरिषद् बैठकमा गरेका छन्।
बिहीबारको बैठकमा मन्त्रीहरुले मुख्यसचिव लोकदर्शन रेग्मीकै निर्देशनमा सचिवहरूले काम नगरेको आरोप लगाएका हुन्।
‘कामचलाउ सरकार भनेर टेर्दैनन्, काम गर्ने बेला मोबाइल पनि स्वीच अफ गर्छन् भन्ने गुनासो केही मन्त्रीहरुले गर्नुभयो’, बैठकमा सहभागी एक मन्त्रीले भने, ‘मुख्यसचिवकै निर्देशनमा सचिवहरूले काम नगरेको आरोप साथीहरुको थियो।'
मन्त्रीहरुको आरोपपछि बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले जवाफ समेत दिएका थिए।
‘यो सरकारले मलाई मुख्यसचिव बनाएको हो। सरकार रहँदासम्म इमान्दारीपूर्वक रहन्छु’ रेग्मीको भनाइ उदृत गर्दै ती मन्त्रीले भने, ‘मैले निर्देशन दिएँ भन्ने कुरा गलत हो।'
रेग्मीले सचिवले नटेरेको अवस्थामा कारबाही गर्ने सार्वभौम अधिकार विभागीय मन्त्रीमा रहेको बताएका थिए। ‘नटेर्दा हटाएर अर्को सचिव राखेर काम अगाडि बढाउनुस् मेरो सहयोग रहन्छ भन्नुभयो’, रेग्मीलाई उदृत गर्दै ती मन्त्रीले भने।
मन्त्रीहरूले सरकार बाहिर भएका दलप्रति सचिवहरू उत्तरदायी देखिएको आरोप लगाएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा सचिवहरू चल्न थालेको गुनासो मन्त्रीहरुले गरेका थिए।
मन्त्रिपरिषद् बैठकमा संस्कृति तथा पर्यटन मन्त्री जीतेन्द्रनारायण देवले सबैभन्दा पहिला सचिवले नटेरेको गुनासो गरेका थिए। उनीपछि बोल्दै कृषि, भौतिक योजना, सहरी विकास, संघीय मामिला मन्त्रीले पनि सचिवले नटेरेको बताएका थिए।
‘हामी जुन दिनसम्म रहन्छौँ सरकारका मन्त्रीका रूपमा रहन्छौं। केयर टेकर भएका छैनौं। हामी प्रधानमन्त्रीले राजीनामा गरेर अर्को सरकार नआएका बेला कामचलाउ होइनौं’, उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले बैठकमा भनेका थिए, ‘हामी फुल फ्लेज मन्त्री हौं। सबै मन्त्रीको सरुवा बढुवा र राजनीतिक नियुक्ति गर्ने अधिकार सुनिश्चित हुन्छ।'
बैठकमा सहरी विकास मन्त्री दिलनाथ गिरीले पनि आफ्नो सचिवले असहयोग भएको गुनासो गरेका थिए। उनले असहयोगकै कारण काम गर्न नसकेको गुनासो बैठकमा राखेका थिए।
‘मोबाइल स्वीच अफ गर्नुभयो, काम गर्न भन्दा सचिवहरू बिदामा बस्नुभयो भनेर केही मन्त्रीले भन्नुभयो’, अर्का एक मन्त्रीले सेतोपाटीसँग भने, ‘उहाँहरुको मनमा के छ भनेर मन्त्रीज्यूहरुले सोध्नुभयो। सचिवहरुले वेवास्ता गरे भनेर आफ्नो आफ्नो मन्त्रालयबाट मन्त्रीज्यूहरु भन्नुभयो।'
यसैबीच मन्त्रिपरिषद् बैठक लगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीले सचिवहरूलाई बोलाएर छलफल गरेका छन्।