नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा नौ बजेदेखि बैठक बसेको हो।
बैठकले सात वटा प्रदेशमा समानुपातिकतर्फ पार्टीका सांसदको सूची टुंगो लगाउने प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिए।
मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेश सभाको समानुपातिकतर्फ कांग्रेस २ र ७ नम्बर प्रदेशमा पहिलो पार्टी बनेको थियो। सात वटा प्रदेशमा कांग्रेसले समानुपातिकतर्फ ७२ सिट जितेको छ।
निर्वाचन आयोगले दलहरुलाई शुक्रबारसम्म समानुपातिकतर्फको अन्तिम सूची बुझाउन समय तोकेको छ।
प्रत्यक्षतर्फ ठूलो हार व्यहोरेको कांग्रेसको चुनावपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो।
आजको बैठकमा समानुपातिक सूची टुंग्याएपछि निर्वाचनमा हारको बारे पनि नेताहरुले कुरा उठाउने स्रोतले जानकारी दियो।