पार्टी एकतामा दोश्रो तहका नेताहरूले पहलकदमी नलिएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका युवा नेताले दबाबको तयारी गरेका छन्। एमाले र माओवादीका प्रभावशाली नेताहरूले शीर्ष नेतृत्वलाई दबाबका लागि राजधानीमा भेला समेत आयोजना गरेका छन्।
'पार्टी एकताको पहलकदमी लिनु पर्नेमा दोस्रो तहका नेताहरू आफ्नो स्वार्थ हेरेर बसे। आफ्नो 'पोजिसन' हेर्ने र दाउ खेलेर समर्थन र विरोध गर्ने गर्न थाले', माओवादी केन्द्रका नेता हिमाल शर्माले सेतोपाटीसँग भने, 'केही पात्र र प्रवृत्ति देखा परे। हाम्रो धारणा एकतालाई सार्थक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हो।'
शर्मासहित माओवादीका देवेन्द्र पौडेल र शक्ति बस्नेत तथा एमालेका सचिव योगश भट्टराई र ठाकुर गैरेले दबाब कार्यक्रम आयोजनाको तयारी गरेका हुन्। यद्यपी नेताहरूले कार्यक्रमलाई पार्टी एकताका लागि सहजीकरण नाम दिएका छन्।
'विचारधारात्मक पक्ष र कार्यदिशाबारे छलफल हुनुपर्छ भनेर लागेको हो', शर्माले भने, 'दुई नेताले मात्र गर्ने अनि विरोध र समर्थन गर्नुभन्दा हाम्रो भूमिका हुनुपर्छ भनेर सक्रिय भएका हौँ।'
शर्माले एकता हुन नदिन शक्तिकेन्द्र पनि लागेको देखिएकाले प्रभावित नहुनु भन्दै नेताहरूलाई खबरदारी गर्न र कम्युनिष्ट केन्द्र एउटै बनाउने अभियानमा लागेको बताए।
एमाले नेता ठाकुर गैरेले पनि खबरदारी आवश्यक रहेको बताए।
'निर्वाचन परिणाम घोषणामा ढिलाई भयो। पार्टी पंक्तिमा एकतामा अन्यौलता सिर्जना भयो। पार्टी एकता कमजोर बनाउने वा अलमल हुने कुनै गतिविधि हुनु हुदैँन', गैरेले भने, 'कुनै बहानामा तलमाथि हुनु हुदैँन, एकता प्रक्रिया अब कसैले रोकेर रोकिदैँन भन्ने हो आवाज अगाडि बढाउन लागेका हौं।'
उनले पार्टी नेतृत्वले एकतामा भएको अप्ठेरोबारे बताए समाधानका लागि सहयोग गर्न युवा नेताहरु सक्रिय भएको बताए।
'एकतासँग जोडिएको सैद्धान्तिक पक्ष र संगठनात्मक पाटो तथा नेतृत्व व्यवस्थापनमा धेरै बहस भएको छ', गैरेले भने, 'हाम्रा लागि वाम आन्दोलनका दुवै अध्यक्ष शीर्ष नेता हो। उहाँहरुले कार्यकर्ताको भावना बुझेर काम गर्नुपर्छ।'
उनले नेताहरुले व्यवस्थापन र संगठनात्मक पाटोको समस्या कार्यकर्तालाई बताउनुपर्ने बताए। उनले त्यसैका लागि भेला आयोजना गर्ने तयारी भएको खुलाए।
माओवादी केन्द्रकै अर्का नेता देवेन्द्र पौडेलले पनि पार्टी एकताको विषयमा विषयान्तर भएकाले अन्तर पार्टी छलफल सुरु गरेको बताए।
'विषयान्तर भयो नि त', पौडेलले भने, 'एकता आर्थिक विकास समृद्धि तथा स्थायी सरकारका लागि हो। तर विषय विषायान्तर नहोस्, मुख्य नेता मात्र बसेर पुग्दैन, हामी पनि लाग्न पर्यो भनेर सक्रिय भएका हौँ। एकता बिग्रन नदिने गरी लाग्नुपर्यो।'
शर्माले पनि आज एकता गरेर भोलि टुट्ने अवस्था नबनाउन तलैदेखि नेता र कार्यकर्तामा छलफल आवश्यक रहेको बताए।
'अहिले नै बहस र छलफल गर्नुपर्यो। राजनीतिक र वैचारिक रूपमा बलियो बनाएर अगाडि बढाउनुपर्छ भन्ने हो', शर्माले भने, 'दुई नेता हुँदा एकता हुने अनि दुई नेता नभएपछि टुट्ने भयो भने के हन्छ?'
शर्माले पार्टी एकता गर्दा कुनै पार्टीको इतिहासलाई अपमान गर्ने गरी जान नहुने बताए। गैरेले पनि एकतासँग जोडिएको सैद्धान्तिक पक्षमा तलैदेखि नेताहरुबीच छलफल आवश्यक रहेको बताए।
'गृहकार्य अभावको बीचमा खेल्न खोज्ने प्रयत्न धेरै भयो। वाम गठबन्धन अगाडि बढ्न नदिन जेजस्ता प्रयत्न भएको देख्न सकिन्छ। ती प्रयत्न सफल हुन नदिन र एकता टुङ्गोमा पुर्याउन भूमीकाका लागि कस्सिएको हो', गैरेले भने।