सरकारले राष्ट्रिय सभा चुनावको मिति, प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे एकैदिन निर्णय गर्ने तयारी गरेको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेपछि सरकारले चुनावको मिति तोक्न लागेको हो।
‘आयोग पदाधिकारीले हामी परामर्श गरेर मिति सिफारिश गछौं भनेका छन्,’ बालुवाटार स्रोतले भन्यो, ‘आयोगको सिफारिश आएपछि एकैसाथ चुनावको मिति, प्रदेश प्रमुख र अस्थायी राजधानीको निर्णय हुन्छ।’
आइतबार साँझसम्म आयोगले चुनावको मिति सरकारलाई सिफारिश गरेको छैन। निर्वाचन आयोगले भने चुनावको मिति तोक्नुभन्दा पहिले प्रदेश प्रमुख तोक्नु पर्ने बताएको छ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरे आयोग पदाधिकारीले मिति तोकेको ३० दिनभित्र राष्ट्रिय सभाको चुनाव सकिने बताएको थिए।
प्रमुख आयुक्त यादवले सो भेटमा आफूहरूले चुनावको मिति घोषणाअघि प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग माग गरेको बताए।
‘प्रदेश सभा सदस्यको सपथ नभएसम्म इलेक्टोरल कलेज पुरा हुन्न’, यादवले भने, ‘प्रदेश प्रमुखको नियुक्ति पहिला गरेर मिति तोक्नुपर्छ। यी सबै विषय जोडिएका छन्। हामीले त्यसबारे पनि ध्यानाकर्षण गरायौं।’