प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र एमाले नेता सुवास नेम्वाङको बीचमा केही दिन यता दोहोरी चलेको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन परिणाम रोकेकोमा नेम्वाङले आपत्ती जनाउँदै आएका छन्।
एमाले नेताहरु र आयोगको दोहरी सोमबार निर्वाचन आयोगमा पनि देखियो।
एमाले- माओवादी नेताहरु निर्वाचन परिणाम रोकिएकोमा आपत्ति जनाउन आयोग पुगेका थिए। उनीहरुले प्रमुख आयुक्तलाई किन निर्वाचन परिणाम रोकेको भनेर सोधेका थिए।
नेम्वाङले राष्ट्रिय सभाको विषय प्रतिनिधि सभा निर्वाचनको परिणामसँग नजोडिएको तर्क गर्दै आएका छन्। जबकी निर्वाचन आयोगले प्रत्येक दलबाट ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने संवैधानिक दायित्वका कारण राष्ट्रिय सभाको मतपरिणाम नआएसम्म समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न नसक्ने बताउँदै आएको छ।
एमाले नेताहरुले लगातार आयोग प्रति आक्रोश पोख्दै आएका छन्।
नेम्वाङले आयोगको भूमिकामा शंका व्यक्त गर्दै, दबाबमा परेर निर्वाचन आयोगले मतपरिणाम रोकेको बताएका थिए।
आइतबार निर्वाचन आयुक्त यादवले रिपोर्टस क्लबको कार्यक्रममा एमाले नेताहरुले कानून नबुझेको आरोप लगाएका थिए। यादवको यहि आरोपबारे एमाले नेताहरुले सोमबार आयोग पुगेर प्रश्न गरेको नेता नेम्वाङले बताए
'मैले धारणा आआफ्नो हुन्छ। आयोगले के भनेको हो बुझिन भनेर सोधेँ,' नेम्वाङले बैठकमा भएको कुराकानी उदृत गरे, 'आयोगले एमालेले संविधान कानुन बुझेन भन्न मिल्दैन भन्यौँ।'
वैठकमा भने यादवले आफुले एमालेलाई त्यस्तो आरोप नलगाएको दावी गरे।
नेम्वाङले बैठकमा भएको कुराकानी उदृत गर्दै भने – 'उहाँले मैले त्यस्तो भनेको छैन। आज पनि भनेको छैन भोली पनि भन्दिन भन्नुभयो।'
एमाले नेताहरुले निर्वाचन आयोगलाई प्रतिनिधिसभाको मतपरिणाम घोषणा गरेर सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन्। आयोगले संविधानको व्यवस्था अनुसार नमिल्ने तर्क गर्दै आएको छ।
एमालेका नेता प्रदिप ज्ञवालीले आयोगलाई दलको कार्यालय नबन्न व्यङ्ग्यात्मक सुझाव दिएका छन्।