नयाँ शक्ति नेपालको महाधिवेशन तयारी समितिको बैठक कास्कीमा सुरु भएको छ।
माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा मंगलबार बिहानदेखि ९ बजेदेखि बैठक सुरु भएको हो।
नयाँ शक्तिको प्रचार विभागका अनुसार बैठकमा २ सय प्रतिनिधि सहभागी छन्।
बैठकका लागि होमस्टेका १४ घर बुकिङ गरिएका छन्। एउटा घरमा २० जनालाई राखिएको छ।
होमस्टेमा बस्नका लागि प्रत्येक सहभागीबाट २ हजार रुपैयाँ उठाइएको छ। नपुगेको रकम कास्की जिल्ला समिति र केन्द्रीय कार्यालयले दिने विभागले जनाएको छ।
सोमबार साँझ ल्वाङ पुगेर होमस्टेमा बसेका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माछापुच्छ्रेको फेदीमा रहेको गुरुङ गाउँको रमणीय र शान्त वातावरणमा हुने बैठक निकै रोमाञ्चक र सार्थक हुने बताएका छन्।
तीन दिनसम्म चल्ले बैठकमा मंगलबार र बुधबार प्रतिनिधिहरुले आफ्ना कुरा राख्ने र बिहीबार संयोजक भट्टराईले जवाफ दिने कार्यक्रम छ। बैठकले पार्टीको आगामी रणनीति पनि बनाउने छ।
पछिल्लो समय देशका विभिन्न भागमा होमस्टे लोकप्रिय बन्दै गएको छ।
कुनै राजनीतिक दलले पार्टीको महत्वपूर्ण बैठक होमस्टेमा गरेको भने यो पहिलो घटना हो।