माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीको एकता पक्रियामा कुनै गाँठो नपरेको बताएका छन्।
बिहीबार गृहनगर भरतपुर पुगेका दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एकता प्रक्रिया सहज रुपमा अगाडि बढिरहेको तर एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी भएकाले ठोस छलफल नभएको बताए।
‘हामी सरकार गठनअघि नै पार्टी एकता टुंग्याउने गरी छलफलमा छौं, यसमा कुनै गाँठो परेको छैन,’ दाहालले भने, ‘दुई अध्यक्षलाई नेता मान्ने कुरा पहिला नै भइसकेको छ, बाँकी अरु सबै कुरा मिडियामा मात्र आएका हुन्।’
उनले आज बालुवाटार भएको पाँच दलको बैठकमा सरकारले संविधान अनुसार प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आफूहरुले सुझाव दिएको बताए।
‘अहिले अस्थायी राजधानी तोक्ने विषयलाई ठूलो बनाइएको छ, यसमा हामीले केही टेन्सन लिनु पर्दैन, अहिले तोकिने राजधानी अस्थायी हो,’ दाहालले भने, ‘प्रदेश राजधानी कहाँ राख्ने निर्णय गर्ने अधिकार प्रदेश सभालाई छ। अहिले यसलाई सामान्य रुपमा लिन म सबैलाई आग्रह गर्छु।’
भोलि हुने भरतपुर महानगरको नगरपरिषदमा सहभागी हुन दाहाल आज चितवन आएका हुन् उनी पर्सि बिहानमात्र काठमाडौं फर्किने कार्यक्रम छ।
https://www.youtube.com/watch?v=XL21_tvpTCs&feature=youtu.be