नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विषयमा मिडियामा जथाभावी नबोल्न नेताहरुलाई निर्देशन दिएका छन्। एमाले स्थायी समिति बैठकमा ओलीले नेताहरुले फरक फरक धारणा सार्वजनिक गर्दा एकता प्रक्रिया असहज हुने बताएका हुन्।
'सहि नीति र नेतृत्वमा पार्टी एकता हुन्छ भनेर अध्यक्षज्यूले भन्नुभयो', एमाले नेता प्रदिप ज्ञवालीले सेतोपाटीसँग भने, 'एकताबारे मिडियामा जथाभावी बोल्दा घाटा गर्छ। सहयोग पुग्दैन भनेर साथीहरुलाई भन्नुभयो।
ओलीले बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटवार्ताबारे समेत जानकारी गराएका थिए। बैठकले पार्टी एकताको पक्षमा प्रस्ताव पारित गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए।
'पार्टी एकता अगाडी बढाउने निर्णय भयो', रावलले भने, 'पार्टी एकता संयोजन समिति बैठक बसेर अगाडि बढ्ने निर्णय भएको छ।'
एमालेले निर्वाचनको परिणाम प्राप्त भएपछि पनि आयोगले नतिजा प्रकाशित गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएको छ।
'आयोगले विलम्ब गरेको छ। यो कुनैपनि हिसाबले स्वभाविक देखिदैँन', एमाले सचिव गोकर्ण विष्टले सेतोपाटीसँग भने, 'आयोग र सरकारको भूमिका षड्यन्त्रमूलक रहेको हाम्रो निष्कर्ष छ।'
एमालेले सरकारले पनि जनताको जनादेश अनुसार अगाडि बढ्नुको सट्टा प्रक्रिया अवरुद्ध गर्ने काम गरेको आरोप लगाएको छ। 'लोकतन्त्रको उपहास गर्ने काम भएको छ', विष्टले भने, 'जनादेशलाई खिल्ली उडाउने काम भएको छ।'
एमालेले सरकार छोड्ने बेलामा अर्बौँ रुपैँया वितरण गर्ने काम भएको भन्दै विरोध जनाएको छ। त्यस्तै सरकारलाई सरुवा बढुवाको काम नगर्न सचेत गराएको छ।