नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहका कारण आजको पुस्ताले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै एमाले अध्यक्ष ओलीले विभिन्न टुक्रामा विभाजित नेपाललाई राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पुर्खाले एकीकरण गरेको भए पनि बेलाबखतमा विभिन्न तत्वहरुले यसलाई विखन्डन पार्न खोजेको बताएका हुन्।
‘तर नेपालीहरुले यस्ता प्रयासहरुलाई सजिलै परास्त गरेर अखण्ड नेपालको रुपमा कायम राखेका छन्,’ सन्देशमा भनिएको छ, ‘हाम्रा पुर्खाहरुले लडेर नेपाललाई बचाएका हुन्, हामीले लड्नु पर्दैन अडेमात्र नेपाल र नेपालीको स्वाभिमान बच्न सक्छ।’
उनले जनताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण राख्ने जिम्मा निवार्चनमार्फत् वाम गठबन्धनलाई दिएको पनि उल्लेख गरेका छन्।
विस १७७९ पुस २७ गते गोरखामा जन्मेका राजा पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए।
उनको यही योगदानको सम्मानमा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाइन्छ। २०६२/०६३ को परिवर्तनपछि सरकारले पुस २७ मा दिइँदै आएको बिदा कटौती गरेको थियो।
यसपालिदेखि सरकारले फेरि पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।