नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सरकारबाट राजनीनामा दिने भएका छन्। एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि प्रधाननम्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुको मन्त्रालय खोसिदिएका थिए। तर निर्वाचन सुनिश्चित गर्न भन्दै माओवादी मन्त्रीहरु बिनाविभागीयकै हैसियतमा सरकारमा रहेका थिए।
निर्वाचनअघि राजीनामा दिने तयारी गरे पनि माओवादीले सरकार छाड्दा चुनाव नहुने निष्कर्ष निकालेको थियो। तर प्रदेश सभा बैठकमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्थामा पुगेपछि माओवादीले सरकार छाड्न लागेको हो।
माओवादी मन्त्री महेन्द्रबहादुर शाहीले सरकार छोड्न लागेको पुष्टी गरे।
‘प्रदेश सभा बैठक पनि अब छिट्टै बस्ला जस्तो छ। कोही मन्त्री भएकाहरु पनि उताका सांसद होलान्, त्यहि भएर राजनीनामा दिन लागेका हौँ’, सेतोपाटीसँग शाहीले भने, ‘राष्ट्रिय सभाको निर्वाचन पनि सुनिश्चित भैसके पछि हामी सरकारमा अब बसिरहनु परेन।’
शाही आफैं पनि प्रदेश नं ६ का प्रदेश सांसद हुन्।
मन्त्री गिरिराजमणी पोखरेलले प्रधानमन्त्रीलाई भेटेर माओवादीले सरकार छाडेको पत्र बुझाउने शाहीले जानकारी दिए।