निर्वाचन परिणामबारे छलफल गर्न कांग्रेसका तीन कोइराला एक ठाउँमा भेला भएका छन्।
सम्बन्ध बिग्रदै गएपछि अन्यले फाइदा लिएको निर्क्यौल निकाल्दै तीन कोइराला पुन: एक ठाउँ आएका हुन्।
कोइराला परिवारबाट शेखर, शशांक र सुजाता राजनीतिमा सक्रिय छन्। शशांक हाल कांग्रेसका महामन्त्री छन्।
सुजाता र शेखर केन्द्रीय सदस्य छन्। दुई वर्षअघि कांग्रेस महाधिवेशनका बेला कोइरालाहरुको बीचमा फाटो पैदा भएको थियो।
त्यतिबेला तीनै जना पार्टीको महत्वपूर्ण पदमा आकांक्षी देखिएका थिए। गत भदौ ९ गते पनि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वलाई बधाई दिने कार्यक्रममा तीनै जना टोखास्थित शशांकको निवासमा जम्मा भएका थिए।
त्यतिबेला शशांक निवास पुगेका प्रकाशशरण महतले तीन कोइराल एक भएको सन्देश प्रवाह गर्न खोजिएको बताएका थिए।
मंगलबार भने सुजाताको मण्डिखाटारस्थित निवासमा तीनै कोइरालाले निर्वाचन परिणामबारे साढे २ घन्टा कुराकानी गरेका हुन्। मंसिरमा भएको संसदीय चुनावमा शंशाक निर्वाचनमा नवलपरासीबाट विजयी भएका छन् भने सुजाता समानुपातिकमा छिन्। शेखरले भने मोरङमा निर्वाचनमा पराजय भोगेका छन्।
शेखरका सहयोगी दिनेशचन्द्र थपलियाले निर्वाचनपछि पहिलो पटक तीन कोइरालाले छलफल गरेको बताए। ‘चुनावी परिणाम, पार्टीको आन्तरिक संगठन, कांग्रेस पराजयको कारण, पार्टी किन कमजोर भयो भन्ने विषयमा छलफल भयो’, थपलियाले सेतोपाटीसँग भने, ‘पार्टीको अन्तराष्ट्रिय छवि र अन्तराष्ट्रिय सम्बन्ध ब्रेक कहाँ भयो भन्ने विषयदेखि गुटको अन्त्यमा समेत छलफल भयो।'
उनले तीन कोइरालाले संस्थागत ढंगले पार्टी चल्न नसेकेको र नेतृत्वको कमजोरीबारे पनि छलफल गरेको बताए।