राष्ट्रिय सभाको चुनाव, प्रतिनिधि र प्रदेश सभाको चुनावी समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेदेखि सुरु हुने बैठकमा राष्ट्रिय चुनावका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
‘राष्ट्रिय सभामा अन्य पार्टीसँगको सहकार्य, पार्टीका उम्मेदवार, मतदाता शिक्षा लगायतका विषयमा छलफल हुन्छ,’ शर्माले सेतोपाटीसँग भने, ‘यी विषयमा निर्णय भएपछि चुनावी समीक्षा सुरु हुन्छ।’
बैठक चुनावी समीक्षामा प्रवेश गरेपछि आजै सकिने सम्भावना नरहेको उनले बताए। ‘समीक्षा गर्न त केही दिन पक्कै लाग्छ,’ उनले भने।
मंसिर १० र २१ गतेको चुनावपछि पहिलो पटक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।
चुनावी पराजय र आगामी रणनीतिका बारे थप छलफल गर्न बैठकले महासमिति बैठक बोलाउने सम्भावना छ।
कांग्रेसका केही नेताहरुले चुनावी पराजयको कारण वर्तमान नेतृत्व भएकाले विशेष महाधिवेशन गरेर अघि बढ्नु पर्ने बताउँदै आएका छन्।