अस्थायी मुकाम धनकुटामा नराखेको भन्दै भएको प्रर्दशनले धनकुटामा तनाव भएको छ।
प्रर्दशनकारीले सरकारी कार्यालय तोडफोड र आगजनी गर्न थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार धनकुटा बजारमा सरकारी कार्यालय रहेका आसपासका क्षेत्रमा समूहमा हिँड्न समेत नपाइने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो।
‘बिहान उनीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाए, अन्य केही कार्यलयमा पनि तोडफोड गर्न थालेपछि प्रर्दशन हिंसात्मक बन्न थालेकाले निषेधाज्ञा जारी गरेका हौं,’ प्रजिअ उप्रेतीले भने।
उनका अनुसार जुलुसमा धनकुाटाका प्रदेश सांसद पनि सहभागी छन्।
‘जुलुसमा हिँडेका उनीहरुसँग मेरो कुरा भएको थियो, हिंसात्मक नहोस् है भन्दा उनीहरुले उल्टै जे पनि हुन सक्ने बताए,’ उप्रेतीले भने, ‘जनतालाई संयम राख्न भूमिका खेल्नुपर्ने सांसद नै जुलुसमा हिँडेकाले अवस्था असहज बनेको हो।’
उप्रेतीले प्रशासनले सर्वदलीय बैठकका लागि प्रस्ताव गरे पनि दलका प्रतिनिधि चासो नदेखाएको बताए।
बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरलाई तोकेको छ।
संविधानले प्रदेश सभाको दुई तिहाइले प्रदेशको राजधानी तोक्न सक्ने अधिकार दिएको भए पनि धनकुटा लगायत दाङ र दीपायलका प्रदेश सभा सदस्य नै आन्दोलनमा उत्रिएका छन्।