पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गतिविधि र भेटघाट अबदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडाबाट मात्र हुने भएको छ।
प्रचण्डलाई भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेरिसडाँडाबाट गर्न लागिएको हो।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्ड आफैंले बोलाएका व्यक्तिले बाहेक अरुले खुमलटार निवासमा भेट पाउने छैनन्।
पार्टी कार्यालयबाटै भेटघाट गर्दा त्यसले समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले प्रचण्डसँगको परामर्शमा सचिवालयले यस्तो निर्णय गरेको हो।
प्रचण्ड केही दिनअघि लाजिम्पाटबाट ललितपुरको खुमलटार बसाइँ सरेका थिए।