प्रदेश प्रमुखले आज दिउँसो ४ बजे पद तथा गोपनियताको सपथ लिँदैछन्।
राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ खाएपछि उनीहरुको कार्यालय र निवासको व्यवस्था सरकारले मिलाउनुपर्छ।
पर्सिदेखि प्रमुखहरु सम्बन्धित प्रदेशका अस्थायी मुकाममा जानेछन्। सरकारले बुधबार विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, रुपन्देही, सुर्खेत र धनगढीलाई प्रदेशका अस्थायी मुकाम तोकेको हाे।
अस्थायी मुकाम तोकेका ठाउँमा प्रदेश प्रमुखले प्रदेश सभा सदस्यलाई सपथ खुवाउनेछन् र प्रदेश सभाको पहिलो बैठक पनि यहीँ बस्नेछ।
अस्थायी मुकाम बनेका ठाउँमा अहिले कार्यालय मिलाउनको चटारो छ।
सबैभन्दा पहिला प्रदेश प्रमुखको कार्यालय, उनको निवास र प्रदेश सभाको पहिलो बैठक बस्ने भवनको टुंगो, मर्मत सम्भारको काम भइरहेको छ। कतिपय ठाउँमा भवनको टुंगो लागिसकेको छ, केही ठाउँमा अझै उपयुक्त भवन खोजी भइरहेको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ओमकुमार बस्नेतले वीरन्द्र सभागृह वा जिल्ला समन्वय समितिको हलमा पहिलो बैठक बस्ने तयारी भएको बताए।
‘क्षेत्रीय पशु निर्देशनालय र वन कार्यालयमध्ये एउटामा प्रदेश प्रमुखको कार्यालय र राष्ट्र बैंक वा मोरङ–सुनसरी सिँचाइ आयोजनाको गेष्ट हाउसमा प्रदेश प्रमुखलाई राख्ने कुरा भइरहेको छ,’ बस्नेतले भने, ‘आज चार बजे यहाँका दलहरुसँग पनि छलफल गरेर सबै कुरा टुंग्याउन लागेका छौं।’
धनुषाका प्रमुख जिल्ला अधिकारी दीलिपकुमार चापागाईँका अनुसार प्रदेश २ को पहिलो प्रदेश सभाको बैठक जिल्ला शिक्षाको तालिम केन्द्रमा बस्ने गरी तयारी हुँदैछ। उनले तत्कालका लागि प्रदेश प्रमुखलाई राष्ट्र बैंकको गेष्ट हाउसमा राखिने भएको जानकारी दिए।
प्रदेश नम्बर ३ को प्रमुखको कार्यालय क्षेत्रीय प्रशासन कार्यालयमा राख्ने र उनको निवासको पनि त्यहीँ व्यवस्था गर्ने गरी तयारी अघि बढिरहेको भवन प्रविधि अनुसन्धान तालिम केन्द्र हेटौंडाका डिई सुदीप आचार्यले जानकारी दिए।
‘प्रदेश सभाको पहिलो बैठक क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा गर्न लागेका छौं,’ आचार्यले भने।
सरकारले ४ प्रदेश अन्तर्गत अध्यागमन कार्यालय पोखरा र क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश प्रमुखको कार्यालय र निवास बनाउने तयारी गरेको छ।
नगर विकास प्रशिक्षण केन्द्रको भवनमा प्रदेश सभाको पहिलो बैठक बस्ने तयारी छ।
प्रदेश ५ को अस्थायी मुकाम रुपेन्दहीमा छ भने प्रदेश प्रमुखको कार्यालयका विषयमा अझै टुंगो लागेको छैन।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बुटवल र भैरहवामा पर्याप्त सरकारी कार्यालय रहे पनि कुन उपयुक्त हुन्छ भन्ने अध्ययन गरिरहेको बताए।
‘हामी अध्ययनकै क्रममा छौं, भोलिसम्म कहाँ टुंगो लागिहाल्छ, भवनको अभाव छैन्,’ मैनालीले भने।
प्रदेश नम्बर छ का प्रदेश प्रमुखको घर नै सुर्खेतमा भएकाले उनलाई तत्कालै निवासको खाँचो छैन।
‘उहाँको घर नै यहीँ भएकाले त्यति हतारो छैन, प्रदेश प्रमुखको कार्यालयचाहिँ क्षेत्रीय वन तालिम केन्द्रमा राख्न लागेका छौं,’ मध्यपश्चिामाञ्चलका क्षेत्रीय प्रशासक सुरेश प्रधानले भने।
प्रदेश ६ को पहिलो प्रदेश सभा बैठक क्षेत्रीय खानेपानी सुपरीवेक्षण तथा अनुगमन कार्यालयको हलमा बस्ने गरी तयारी भइरहेको पनि प्रधानले जानकारी दिए।
सुदूरपश्चिमका क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलका अनुुसार धनगढीमा प्रदेश प्रमुखको कार्यालय, उनको निवास र पहिलो बैठकका लागि कुन भवन उपयुक्त हुन्छ भनेर अध्ययन भइरहेको छ।
‘विकल्प धेरै छन्, हामी हेर्दै छौं,’ पौडेलले भने।
सामान्य प्रशासन मन्त्रालयले प्रदेश प्रमुखको कार्यालयमा प्रथम श्रेणीको कर्मचारी पठाउने निर्णय गरेको छ।
‘मुख्यमन्त्रीको कार्यालयको प्रमुख सचिवको विषयमा क्याबिनेटले निर्णय गर्नुपर्छ,’ मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने, ‘प्रदेश प्रमुखको कार्यालयका सचिवको निर्णय आजै गर्ने तयारी छ।’
प्रदेश कार्यालयको सचिव खटाउने निर्णय मन्त्रिस्तरीय निर्णय भए पुग्छ।
५ मुख्यमन्त्रीको कार्यालयमा अहिलेका क्षेत्रीय प्रशासकलाई नै पठाउने सरकारी तयारी छ।
बाँकी दुई प्रदेशमा दुई जना बरिष्ठ सहसचिवलाई पठाउने तयारी छ। अहिले बरिष्ठ सहसचिवको सूचीमा पहिलो र दोस्रो नम्बर यादव कोइराला र रामप्रसाद थपलिया छन्।