निर्वाचन आयोगले सातै प्रदेशका प्रमुखलाई निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन बुझाएको छ।
आयोगले राष्ट्रपति भवनमा सपथ गरे लगत्तै उनीहरुलाई प्रदेश सभाको निर्वाचन प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन पाए लगत्तै प्रदेश प्रमुखहरुले प्रदेश सदस्यहरुलाई ७ गते ११ बजे सपथ खुवाउने भएका छन्।
प्रदेश ७ का मोहनराज मल्ले सपथको सूचना एफएम र पत्रिकामा दिन र सबै सदस्यलाई खबर गर्न क्षेत्रीय प्रशासकलाई सूचीत गरेको बताए। प्रदेश ३ को सपथ पनि सोही समयमा तोकिएको प्रदेश प्रमुख अनुराधा कोइरालाले बताइन्।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ७ गते मतदाता नामावली प्रकाशन गर्नु अघि सपथ खुवाउन लागिएको हो। मल्लले आयोगले समयको चाप रहेको बताएकै कारण छिटो छिटो सपथ खुवाउन लागिएको बताए।
'इमरजेन्सी छ, म भोलि नै धनगढी जाँदै छु' मल्लले सेतोपाटीसँग भने।
प्रदेश सभाका सदस्यले सपथ खाए लगत्तै प्रदेशमा नयाँ सरकार गठनको बाटो समेत खुलेको छ। प्रदेशमा बहुमत ल्याउने दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्नेछन्।
एउटा पार्टीको बहुमत नरहेको अवस्थामा बहुमत हस्ताक्षर बुझाउने दलका नेता मुख्यमन्त्री बन्नेछन्। मल्लले सरकार गठनको प्रक्रियामा पनि छिट्टै अगाडि बढाउने बताए।
संविधानमा प्रदेश सभा गठनको ३५ दिन भित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने प्रावधान छ।