सात प्रदेश सभाका ५५० जना सदस्यले आइतबार सपथ लिँदै छन्।
विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, सर्खेत र धनगढीमा प्रदेश सभा सदस्यको सपथको तयारी चलिरहेको छ।
बिहान ११ बजे सपथ हुने भनिए पनि कतिपय ठाउँमा अझै प्रदेश सभा सदस्यहरु उपस्थित हुन सकेका छैनन् भने केही प्रदेश प्रमुख पनि प्रदेश मुकाम जाँदै छन्।
प्रदेश १ का सांसदको सपथ विराटनगरस्थित वीरेन्द्र सभागृहमा हँदै छ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार पहिला प्रदेश प्रमुख गोविन्द सुब्बा प्रदेशका सभा जेष्ठ सदस्यलाई सपथ खुवाउने छन्। तिनै जेष्ठ सदस्यले प्रदेश सभाका अन्य सदस्यलाई सपथ खुवाउने छन्।
‘जेष्ठ सदस्यको सपथ केहीबेरमा हुन्छ, अन्य माननीयहरु आउँदै हुुनुहुन्छ, ११ बजेतिर उहाँहरुको पनि सपथ हुन्छ,’ आचार्यले भने।
शुक्रबार साँझमात्रै प्रदेश सभा सदस्यलाई सपथका लागि मुकाममा बोलाइएको थियो।
दुई नम्बर प्रदेशका सांसदले जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा सपथ लिँदै छन्। धनुषाका प्रजिअ दीलिपकुमार चापागाईँका अनुसार सपथको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
प्रदेश ३ का प्रदेश सभाका जेष्ठ सदस्यको सपथ हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा हुने मकवानपुरका प्रजिअ चक्रबहादुर बुढाले जानकारी दिए। ‘अरु सपथ क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा गर्न तयारी छ,’ बुढाले भने।
प्रदेश ४ का प्रदेश सभा सदस्यको सपथ नगर विकास प्रशिक्षण केन्द्रको हलमा हुँदैछ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार ११ बजे बुटवलस्थित उद्योग वाणिज्य संघको सभा हलमा प्रदेश ५ मा प्रदेश सभा सदस्यको सपथ हुँदैछ।
मध्यपश्चिमका क्षेत्रीय प्रशासक सुरेश प्रधानका अनुसार प्रदेश प्रमुख दुर्गाकेशर खनाल आइतबार बिहानमात्र सुर्खेत आइपुगेका छन्।
‘जिल्ला समन्वय समितिको हलमा ११ बजे सपथको तयारी छ,’ प्रधानले भने।
प्रदेश ७ का प्रमुख मोहनराज मल्ल भने अझै धनगढी पुग्न सकेका छैनन्।
शुक्रबार सपथका लागि काठमाडौंका आएका उनी शनिबार धनगढी र नेपालगञ्जमा उडान हुन नसकेपछि सडकमार्गबाट धनगढी जाँदैछन्।
‘प्रदेश प्रमुखज्यू १२ बजे आइपुग्नुहुन्छ होला, उहाँ आएपछि जिल्ला समन्वय समितिको हलमा सपथ हुन्छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने।
सबै प्रदेशमा सभाका जेष्ठ सदस्यलाई प्रदेश प्रमुखले सपथ खुवाउने र त्यसपछि जेष्ठ सदस्यले बाँकी सदस्यलाई सपथ खुवाउने छन्।