अाइतबार सातै प्रदेशका प्रदेश सभा सदस्यले सपथ लिँदै छन्। केही प्रदेशमा सपथ सकिएको छ भने केहीमा जारी छ।
प्रदेश नम्बर २ का १०७ जना सांसदहरुले तीन भाषामा सपथ लिएका छन्।
केहीबेरअघि जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा उनीहरुले सपथ लिएका हुन्।
‘मैले मैथिलीमा सपथ लिएँ, अरु साथीले अन्य भाषामा सपथ लिनुभयो,’ समाजवादी फोरमबाट महोत्तरीका प्रदेश सभा सदस्य सरोजकुमार सिंहले भने।
दुई नम्बर प्रदेशका सांसदले नेपाली, मैथिली र भोजपुरीमा सपथ लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दीलिपकुमार यादवले जानकारी दिए।
प्रदेश नम्बर ४ का सांसदहरुले पनि सपथ लिइसकेका छन्।
पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको हलमा जेष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेश सभा सदस्यलाई सपथ खुवाएका थिए।
यसअघि प्रदेश प्रमुख बाबुराम कुँवरले श्रेष्ठलाई सपथ खुवाएका थिए।
प्रदेश सभाका सबै सांसदले नेपालीमा सपथ लिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ दाहालले जानकारी दिए। प्रदेश नम्बर ४ मा प्रत्यक्ष र समानुपातिक गरी ६० प्रदेश सभा सदस्य छन्।
प्रदेश ३ का प्रदेश सांसदहरूले सपथ लिएका छन्।
प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा सपथ ग्रहण गराए लगत्तै पौडेलले प्रदेशसभा सदस्यहरूलाई शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएका थिए।
प्रदेश ३ मा प्रत्यक्ष र समानुपातिक गरी ११० प्रदेश सभा सदस्य छन्।
यससँगै, प्रदेश ५ का प्रदेश सांसदहरूले सपथ लिएका छन्।
प्रदेश प्रमुख उमाकान्त झालेले ज्येष्ठ सदस्य बलदेव शर्मालाई सपथ ग्रहण गराए लगत्तै पौडेलले प्रदेशसभा सदस्यहरूलाई बुटवल उद्योग वाणिज्य संघको हलमा सपथ ग्रहण गराएका थिए।
प्रदेश ५ मा प्रत्यक्ष र समानुपातिक गरी ८७ प्रदेश सभा सदस्य छन्।
प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिएका छन्।
प्रदेश नं १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रूपमा शपथ खुवाए।
सो अवसरमा प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प्रदेश सदस्यले शपथ लिए।
शपथका अवसरमा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रतिनिधिसभाका सदस्य, पूर्वसांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, सुरक्षाकर्मीका उच्च पदाधिकारी, कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, समाजसेवीलगायतको उपस्थिति थियो ।
अन्य प्रदेशमा पनि सपथ ग्रहणको कार्यक्रम चलिरहेको छ।
प्रदेश प्रमुख ढिला पुगेपछि प्रदेश सातका सांसदको सपथ दिउँसो १ बजेपछि मात्र हुने भएको छ।
प्रदेश सांसदको सपथ भएपछि अब प्रदेश सभाको पहिलो बैठक बस्नेछ।
निर्वाचन आयोगले प्रेदश प्रमुखलाई प्रदेश सभाको परिणाम बुझाएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक बस्नु पर्ने संवैधानिक व्यवस्था छ।
आयोगले शुक्रबार प्रदेश सभाको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाएको थियो।