भारतको दिल्ली राज्यका २० विधान सभा सदस्यको पद खारेज भएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आम आद्मी पार्टीका यी सांसदले लाभको पद लिएको भन्दै निर्वाचन आयोगले अयोग्य घोषणा गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो।
आइतबार राष्ट्रपति रामनाथ कोविन्दले उनीहरुर्लाइ अयोग्य घोषणा गर्न स्वीकृति दिएपछि केन्द्र सरकारले सार्वजनिक सूचना जारी गरी उनीहरुको पद खारेज गरेको समाचार संस्था पिटिआईले जनाएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यी सांसदलाई संसदीय सचिव बनाएका थिए। जसलाई लाभको पद मानिन्छ।
सन् २०१५ मार्चदेखि २०१६ सेप्टेम्बरसम्म लाभको पद लिएकाले उनीहरुलाई अयोग्य घोषणा गर्न आयोगले सिफारिश गरेको थियो।
उनीहरु अयोग्य भएपछि अब दिल्लीका २० ठाउँमा उपचुनाव गर्नुपर्नेछ।
यो घटनाले केजरीवालको सरकारलाई भने तत्काल कुनै असर पर्ने छैन।
दिल्लीका ७० विधानसभा सिटमध्ये उनको पार्टीले ६६ सिटमा जित हात पारेको थियो। २० जना अयोग्य घोषित हुँदा पनि केजरीवाल सरकारसँग बहुमत हुन्छ।