नेकपा एमालेको प्रदेश सभा ६ को संसदीय दलको बैठकले मुख्यमन्त्री माओवादी केन्द्रलाई नछाड्ने निर्णय गरेको छ।
नेकपा एमाले र माओवादी केन्द्रको संयोजन समितिको बैठकले निर्णय गर्नुअघि नै प्रदेश सभाको संसदीय दलको बैठकले सरकारको नेतृत्व नछाड्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको हो।
४० सदस्यीय प्रदेश सभामा एमालेको २० सांसद छन्।
‘हामीले पचास प्रतिशत जितेका छौँ। एक्लै सरकार बनाउन सक्छौँ। चलाउन सक्छौँ। टिकाउन सक्छौँ’, प्रदेश ६ मा एमाले संसदीय दलको बैठकको नेतृत्व गरेका प्रदेश सदस्य यामलाल कँडेलले सेतोपाटीसँग भने, ‘पार्टीको नेतृत्वलाई प्रदेश सरकारको नेतृत्वको दाबी गर्ने गरी कुरा गर्ने भन्ने दलको बैठकको निर्णय भयो।'
कँडेलले आफ्नो पार्टी कतै नजाँदा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था रहेको उल्लेख गरे। प्रदेश ६ मा एमालेबिना सरकार गठन असम्भव छ।
संविधानमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्ने व्यवस्था छ। एमालेले अन्य दललाई सहमति नदिदाँ एमालेकै संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन्। प्रदेश नं ६ मा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गरिरहेको छ।
माओवादीले प्रदेशमा मुख्यमन्त्री बनाउन भन्दै सरकारमा मन्त्री रहेका महेन्द्रबहादुर शाहीलाई उम्मेद्वार बनाएको थियो। शाही मुख्यमन्त्रीको दाबेदार हुन्।