मधेसवादी दलले राष्ट्रिय सभा चुनावमा कांग्रेस र वाम गठबन्धन जोसँग कुरा मिल्छ उसैसँग तालमेल गर्ने भएका छन्।
प्रदेश २ का ८ राष्ट्रिय सभा उम्मेदवारमा तालमेल गर्न मंगलबार बिहान वाम गठबन्धन र दुई मधेसवादी दलको छलफल भएको राजपा नेता केशव झाले जानकारी दिए।
बिहानको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि दिउँसो तीन बजे फेरि बैठक बस्न लागेको झाले बताए।
फोरम र राजपाले वाम गठबन्धनसँगसँगै कांग्रेससँग पनि तालमेलका लागि छलफल गरिरहेका छन्। यसअघि यी दुई दलले प्रदेश प्रमुखमा कांग्रेससँग मिलेर भागबन्डा गरेका थिए। जसअनुसार प्रदेश २ मा फोरमका रत्नेश्वरलाल कायस्थ र ५ मा राजपाका उमाकान्त झा प्रमुख नियुक्त भएका थिए।
‘तीन बजे वाम गठबन्धनसँगको बैठकअघि कांग्रेससँग पनि छलफल गर्ने कुरा छ, समय टुंगिएको छैन,’ फोरम अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भने, ‘अहिले पार्टीको बैठक चलिरहेको छ।’
कांग्रेसका एक नेताले २ नम्बरमा कांग्रेसले राजपा र फोरमलाई ४ सिट दिन प्रस्ताव गरेको बताए।
एमाले नेता प्रदीप ज्ञवालीका अनुसार मधेसवादी दलले कांग्रेससँग पनि छलफल गरिरहेकाले उनीहरु तालमेल हुने नहुने अझै टुंगो नभएको बताए। ‘कुरा त भइरहेको छ, तर उहाँहरु ‘कन्फ्यूजन’मा हुुनुहुन्छ, कांग्रेससँग पनि कुरा गरिरहनुभएको छ,’ ज्ञवालीले भने।
स्रोतका अनुसार दुबै पार्टी ८ मध्ये ६ सिट आफूहरुलाई दिनुपर्ने बताएका छन्।
‘वाम गठबन्धनसँगको तालमेल राष्ट्रिय सभाका लागि मात्र नभएर संविधान संशोधनसँग पनि जोडिएकाले महत्वपूर्ण छ,’ राजपा नेता झाले भने, ‘तर कुरा अझै टुंगिसकेको छैन।’
राष्ट्रिय सभा उम्मेदवार टुंग्याउन दलहरुका आन्तरिक बैठक पनि आज बसिरहेका छन्।
निर्वाचन आयोगले भोलि उम्मेदवारी दर्ताको मिति तोकेको छ।