प्रदेश नम्बर २ बाट राष्ट्रिय सभामा आउने ८ सांसदका लागि मुख्य पार्टीहरुले २/२ जना मात्र उम्मेदवार उठाउने भएका छन्।
वाम गठबन्धनले यसअघि नै प्रदेश नम्बर २ मा एक सिटमा एमाले र एक सिटमा माओवादी केन्द्रले उम्मेदवार उठाउने टुंगो लगाइसकेको छ। उसले थप सिटका लागि फोरम र राजपासँग तालमेलको प्रयास गरेको थियो। तालमेलको प्रयास सफल नभए पनि बाँकी सिटमा उम्मेदवारी नदिने एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए।
वाम गठबन्धनसँग पनि तालमेलका लागि छलफल गरेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले मंगलबार साँझ अन्य नेपाली कांग्रेससँग तालमेलको सहमति गरेका छन्। यी तीन पार्टीले २/२ सिट भागबन्डा गरेका छन्।
कांग्रेस, राजपा र फोरमले बाँकी दुई सिटमा आफ्नै तरिकाले उम्मेदवारी दिन सकिने पनि बताएका छन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दुई नम्बरमा २ सिट वाम गठबन्धन जित्ने निश्चित भएकाले त्यसमा तालमेल नगरेको बताए। ‘परिणाम पनि उम्मेदवारी जस्तै दुई/दुई आउने देखिन्छ,’ शर्माले भने, ‘हामीले हिसाब गरेरै बाँकी उम्मेदवारी नदिएका हौं।’
प्रदेश नम्बर २ मा एमालेले खुलातर्फ सप्तरीका सुमन प्याकुरेललाई उम्मेदवार बनाएको छ भने माओवादीले शशिकला दाहाललाई महिलातर्फ उम्मेदवार बनाएको छ।
कांग्रेस, राजपा र फोरमले उम्मेदवारको टुंगो लगाउँदै छन्।