नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि राप्रपा त्यागेर एमाले प्रवेश गरेकी गायिका कोमल वलीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णयको बचाउ गरेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले कोमललाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयको विरोध गर्नु द्वैध चरित्र भएको बताए।
‘एकातिर एमालेले नयाँलाई अवसर दिन्न भन्ने अनि नयाँलाई बनायो पूराना नेता/कार्यकर्तालाई अवसर दिएन भन्ने,’ ओलीले भने, ‘यो त द्वैध कुरा भयो।’
उनले कोमल वलीका पक्षमा एमालेमा मात्र होइन राष्ट्रिय सहमति भएको बताए।
‘मेराविरद्ध बरु उम्मेदवारी परेको थियो तर कोमल वलीविरद्ध कांग्रेसले पनि उम्मेदवार उठाएन,’ ओलीले भने, ‘कोमलका पक्षमा त राष्ट्रिय सहमति नै भयो।’
माघ १० गते भएको राष्ट्रिय सभाको उम्मेदवारी दर्तामा वली प्रदेश नम्बर पाँचबाट उम्मेदवार बनेकी छन्। उनीविरुद्ध उम्मेदवारी नपरेकाले वली निर्वोरोध भएकी छन्।
ओलीले एमालेको समर्थनमा मनाङबाट प्रदेश सभा निर्वाचित स्वतन्त्र सांसद राजिब गुरुङ (दीपक मनाङे) बारे भने पार्टीलाई कुनै चासो नभएको बताए।
‘उहाँ स्वतन्त्र सांसद हो, उहाँका बारे अदालतले के आदेश दिएको छ, हाम्रो सरोकारको विषय होइन, अदालतको आदेशमा माथिल्लो अदालतले पुनर्विचार गर्न सक्छ, सरकारले सक्दैन,’ ओलीले भने।