नेकपा एमाले र माओवादी केन्द्रले ६ वटा प्रदेशको सभामुख र मुख्यमन्त्रीको भागबन्डा टुंग्याएका छन्।
आइतबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको दुई दलको कार्यदलले वाम गठबन्धनको बहुमत रहेका ६ प्रदेशको भागबन्डा टुंग्याएको छ। प्रदेश नम्बर २ बाहेक सबै प्रदेशमा गठबन्धनको बहुमत छ।
कार्यदलका सदस्य एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार प्रदेश १,३, ४, ५को मुख्यमन्त्री एमालेले पाउने छ भने प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाउने छन्। उनका अनुसार १, ३, ६ र ७ को सभामुख एमालेले र उपसभामुख माओवादी केन्द्रले पाउनेछन्।
प्रदेश ४ र ५ माओवादीका सभामुख हुनेछन्, उपसभामुख एमालेका हुनेछन्।
प्रदेशको मन्त्रिपरिषद्मा दुई पार्टीबीच ७० र ३० प्रतिशतको भागबन्डा हुने भएको छ। यसअघि प्रदेश सभा चुनावमा एमाले र माओवादी ६० र ४० प्रतिशत उम्मेदवार उठाएका थिए।
मन्त्रालय भागबन्डा संसदीय दलको नेता र मुख्यमन्त्री बसेर टुंगो लगाउने पनि सहमति भएको पाण्डेले जानकारी दिए।
प्रदेशमा सुरुआतमा ७ देखि ११ जनाको मन्त्रिपरिषद् बनाउने निर्णय पनि कार्यदलले गरेको छ।