राजनीतिक भेटघाटका लागि भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउने भएकी छन्।
भारतीय विदेश मन्त्रालय सोमबार साँझ विज्ञप्ति जारी गर्दै स्वराजले फेब्रुअरी १ र २ (माघ १८ र १९) मा नेपालको भ्रमण गर्ने जनाएको छ। |
मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीच भइरहने उच्च तहको राजनीतिक भेटघाटको निरन्तरता भएको बताएको छ।
स्वराजको भेटघाटमा राजनीति भेटघाट र दुई देशका साझा हितका विषयमा कुरा हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
परराष्ट्र पनि सोमबार मात्रै जानकारी
स्वराजको नेपाल तय गरेर विदेश मन्त्रालय विज्ञप्ति जारी गरे पनि नेपालको परराष्ट्र मन्त्रालयमा उनको भ्रमणबारे औपचारिक जानकारी आइसकेको छैन।
‘सोमबार उहाँ आउन सक्ने भन्ने कुरा आएको थियो, कतिबेला आउने के, के गर्ने भन्ने केही कुरा हामीलाई थाहा छैन,’ मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारीले भने, ‘आज विदा परेकाले अब भोलि मात्र उहाँको भ्रमण बारे औपचारिक जानकारी आउँछ कि।’
यसअघि गत साउनमा काठमाडौंमा सम्पन्न विमस्टेकको सम्मेलनमा सहभागी हुने स्वराज नेपाल आएकी थिइन्।
नेपालमा प्रदेश र संघीय संसदको चुनावपछि पहिलो पटक भारतीय विदेशमन्त्री नेपाल आउन लागेकी हुन्।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी भावी प्रधानमन्त्रीका रुपमा बधाई दिएका थिए।