पूर्वी रुकुमको सदरमुकाम रूकुमकोटबाट गोलखारा सार्ने सरकारको निर्णय विरुद्ध रूकुमकोटमा थालिएको आन्दोलनका कारण रूकुमकोट बजार छैठौं दिन पनि ठप्प छ। स्थानीयवासी र आसपासका बासिन्दाले आन्दोलन थप शसक्त बनाउँदै लगेका छन्।
सरकारले ११ गते साँझ रूकुमकोटमा रहेको सदरमुकामा गोलखारा सार्ने निर्णय गरेको थियो। सोही रातिदेखि नै नाराबाजी र गाउँ घेराऊ गरेर गरेका रूकुमकोटवासी बसेका छन् भने छिमेकी गाउँवाट आन्दोलनमा सहभागि हुन आउनेहरु बढीरहेका छन्।
भौतिकपूर्वाधार नभएको, दुर्गम, वस्ति नै नभएको ठाउँमा सदरमुकाम सार्ने निर्णय गरेर सरकारले जातीय र क्षेत्रीय भीडन्त गराउन खोजेको स्थानीय बुद्धिजीविको आरोप छ । शिक्षक मानबहादुर बस्नेतले पहिले नै सरकारले सदरमुकाम तोकि सकेको, भौतिकपूर्वाधार र सुगम रुकुमकोटमा रहेको सदरमुकाम सारेर रुकुमेलीलाई लडाउन खोजेको आरोप लगाउँछन्।
शुक्रबार बिहानदेखि बजार, शिक्षण संस्था, यातायात ठप्प पारेका छन् । उनीहरूले जिल्लाका रुकुमकोट प्रवेश गर्ने हरेक नाकामा ठूल्ठूला खाल्डा खनेर सवारी आवागमनमा रोक लगाएका छन्। स्थानीयको अनिश्चितकालीन आन्दोलका कारण रुकुमकोट बजार आन्दोलनमय बनेको छ ।
सरकारको निर्णय फिर्ताको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिएका छन्। ‘रुकुमकोटबाट सदरमुकाम सारेर पूर्वाधार, यातायात नभएको विकट गाउँमा लग्ने सरकारको निर्णयको विरोधमा आन्दोलनमा छौं,’ संघर्ष समितिका संयोजक नन्दलाल शर्माले भने, ‘सरकारको यो निर्णय फिर्ता नभएसम्म बरु हामी मर्न तयार छौं तर आन्दोलनबाट पछि हट्दैनौं।’
राज्य पुर्नसंरचना गर्दा सरकारले रुकुमलाई विभाजन गरेर रुकुम पूर्व र रुकुम पश्चिम बनाएको थियो। २०३० सालअघि पनि समग्र रूकुम जिल्लाको सदरमुकाम रहेको रुकुमकोट तत्कालिन सरकारले मुसिकोट सारिदिएपछि पीडित महशुस गरेको थियो।
रूकुम टुक्रिए पनि पुनः सदरमुकाम बन्ने अभिलासाले खुसी भएका रुकुमकोटबासी निराश र आक्रोशित बनेका छन्।
रुकुमकोटमा कारागार र जिल्ला जनस्वास्थ्य बाहेक अधिकांश सरकारी कार्यालय स्थापना भइसकेका छन्। तर, सरकारले एकाएक विकट गाउँमा सदरमुकाम सार्ने निर्णय गरेपछि रूकुमकोटबासीले अन्याय गरेको महशुश गरेका छन्।
४४ वर्षपछि फेरि आन्दोलन आजभन्दा ४४ वर्षपहिले रुकुमकोट समग्र रूकुमको सदरमुकाम थियो। २०३० सालमा राजाको हुकुम प्रमाङ्गीबाट त्यहाँको सदरमुकाम खोसिएको थियो र मुसिकोट खलंगा लगिएको थियो। बाह्र वर्ष सदरमुकाम बसेको रुकुमकोटवाट खोसिँदा रूकुमकोटबासीले त्यति बेला पनि आन्दोलन गर्नुपरेको थियो भने सरकारी गोलीले थुप्रै घाइते भएका थिए। एक जनाको मृत्यु समेत भएको थियो।
१२ वर्षपछि तत्कालीन सरकारले गरेको निर्णय बमोजिम २०३० वैशाख १ गते रूकुमकोटबाट सदरमुकाम खलंगा सारेरै छाड्यो। अहिले फेरि सरकारले बसिरहेको सदरमुकामा सार्ने निर्णय गरेपछि भर्खर पलाएको खुसी मेटिने डरले उनीहरु आन्दोलनमा उत्रिएका छन्।
यसरी रुकुमकोटलाई पटकपटक हेला गरिएको स्थानीयवासीले महशुस गरेका छनन् ।
२०३० सालमा सदरमुकाम खोसिँदा चिढिएको रुकुमकोटलाई वर्तमान सरकारले फेरि उसैगरी आन्दोलित बन्न बाध्य पारिदिएको छ । रुकुमकोटका नागरिक फेरि उसैगरी सदरमुकाम बचाउको माग गर्दै आन्दोलनमा होमिनु परेको छ । तीन गाउँपालिका रहेको पूर्वी रुकुमको रुकुमकोटसँगै भुमे गाउँपालिकाको आधाभन्दा बढी हिस्सा आन्दोलनमा होमिएको छ ।
सरकारी निर्णय आएपछि आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।