डाक्टर गोविन्द केसीको मुद्दा मिलाउन दुईपटकसम्म प्रयास गर्दा पनि नमानेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई निरन्तर धम्क्याएको र ज्यानमार्नेसम्मको धम्की दिएको दिएको खुलेको छ।
भण्डारी सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा विपक्षी बनाएका डाक्टर केसीका मुख्य वकिल हुन्।
प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले डाक्टर शशी शर्मालाई ४ दिनका लागि पुनर्वहाली गरेपछि डाक्टर केसीले उनको राजीनामा माग गर्दै अनसन बसेका थिए। त्यो बेला केसीले बोलेको कुराले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो। डाक्ट केसीले प्रधानन्यायाधीश भ्रष्ट र माफिया भएको आरोप लगाउँदै राजीनामा माग गरेका थिए।
भण्डारीका अनुसार, पुस २६ गते विहान १० बजेतिर डाक्टर केसी सहित बहसका लागि सर्वोच्च अदालत पुगेपछि उनलाई पराजुलीले आफ्नो च्याम्बरमा बोलाएका थिए।
'मैले उहाँसँग फाइट गर्न खोजेको हैन। डाक्टर केसीलाई सम्झाइ दिनुस्। उहाँले आवेगमा आएर बोलेको हो भनेर स्वीकार गर्नुभयो भने यो मुद्दा खारेज हुन्छ,' प्रधानन्यायाधीशलाई उदृत गर्दै भण्डारीले भने।
त्यहाँ उल्टो भण्डारीले प्रधानन्यायाधीशलाई सम्झाउन खोजे।
'डाक्टर केसीले आवेशमा आएर बोलेको कुरा हैन यो उहाँले सोचेरै बोल्नु भएको हो।त्यसको उहाँले प्रमाण दिनुहुन्छ। हामी वकीलहरुले उहाँको पक्षमा बहस गर्छौँ भनेको थिएँ,' भण्डारीले सेतोपाटीसँग भने।
उनका अनुसार, यो विषय तन्काउन नचाहेको भए तीन कुरा अपनाउन प्रधानन्यायाधीशलाई उनले सुझाएका थिए।
पहिलो, अनसनकारीमाथि धावा बोलेर झगडा तपाईँले सुरू गर्नुभयो त्यसैले यो मुद्दा खारेज गर्नुस्। दोस्रो, तपाईँमाथि लागेका आरोपको छानविन होस। तेस्रो, डाक्टर केसीलाई अनसन बसेकै अवस्थामा जेल पठाउनु ठिक हुन्न।
त्यसै दिन दिउँसो न्यायाधीश ओमप्रकाश मिश्र र वमबहादुर श्रेष्ठको इजलासमा भण्डारीले बहस गरे। डाक्टर केसीले लगाएका सबै आरोपहरुको बचाउ गर्दै उनले प्रधानन्यायाधीश पराजुली 'माफिया, भ्रष्ट र अपराधमा संलग्न' भएको जिकिर गरे।
दिउँसो ३ बजेतिर आफ्नो बहस सकेका थिए। आफ्नो बहस सकिए लगत्तै फेरि पराजुलीले फोन गरेर भेट्न बोलाएको उनले बताए।
भण्डारी प्रधानन्यायाधीशको च्याम्बरमा छिर्ने वित्तिकै पराजुलीले भने, 'तपाईँहरुले त मेरा विरुद्ध जियादै छेड्नु भयो हैन? मैले यस्तो नहोस भन्ने चाहेको थिएँ, कसै गरी तपाईँले कुरा मिलाउनुपर्यो।'
फेरि पनि भण्डारीले आफुले केही गर्न नसक्ने र केसीलाई पक्राउ गरेर प्रधानन्यायाधीशले गल्ती गरेको सम्झाए।
'मैले उहाँलाई गोविन्द केसी पछी नहट्ने जानकारी गराएँ। उहाँलाई पक्राउ गरेर तपाईँले ठूलो गल्ति गर्नुभो यो केस तपाईँले हार्नुहुन्छ भनेँ। विहानै भनेका कुरा फेरि दोहोर्याएँ,' भण्डारीले भने।
त्यसपछी उनी सर्वोच्च अदालत परिसरमा झरे। न्यायाधीश मिश्र र श्रेष्ठको इजलासमा अरु वकीलको बहस चलिनै रहेको थियो।
५ बजेपछी बहस सकियो। न्यायाधीशहरु इजलासबाट आदेशलेख्न च्याम्बरमा पसे। भण्डारी आफ्नो टिमसँग अदालत परिसरमै थिए। त्यहिबेला आफुलाई फेरि प्रधानन्यायाधीशको फोन आएको तर आफुले नदेखेकोले पछी रिप्लाई गरेको उनले बताए।
त्यो बेला पराजुलीले उनलाई मार्ने धम्की दिएका थिए।
'मिसकल देखेर मैले फोन रिप्लाई गरेको थिएँ। उहाँले 'तपाईँ बढ्ता हुँदै हुनुहुन्छ, म तपाईँलाई मार्छु बुझ्नुभो? मैले बाँकी राख्दिन' भन्नुभयो,' प्रधानन्यायाधीशलाई उदृत गर्दै भण्डारीले भने, 'मैले त उहाँलाई उल्टै सम्झाएको थिएँ, नरिसाउनुस श्रीमान् हामी दाजुभाई बसेर कुरा गरौँला भनेको थिएँ। उहाँले फोन काट्नु भयो।'
त्यसको केही मिनेटपछि न्यायाधीश मिश्र र श्रेष्ठको इजलासले पराजुलीको नागरिकता र प्रमाणपत्र मगाउने अनि डाक्टर केसीलाई तारेखमा छोड्ने आदेश गर्यो।
यो बीचमा अरु कुरा केही भएन। गत विहिबार विहान भण्डारीले नागरिक दैनिकमा 'प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ?' भन्ने शीर्षकमा लेख लेखे। त्यसपछी फेरि प्रधानन्यायाधीश पराजुलीको फोन आयो।
'म आफ्नो ल फर्ममा साथिहरुसँग बसेको थिएँ। फेरि प्रधानन्यायाधीशको फोन गरेर फेरि धम्क्याउनु भयो।' उनले भने।
उनका अनुसार प्रधानन्यायाधीश पराजुलीले फोनमा भनेका थिए, 'तपाईँलाई वरिष्ठ अधिवक्ता दिएको मेरो विरोध गर्नका लागि रैछ हैन। मेरो मेरो विरोध गर्दै हिँड्ने? अरुको इभल्स खोज्दै हिँड्ने तपाईँको खोजी हुन्छ मैले छोड्दिन बुझ्नुभो?'
पराजुली प्रधानन्यायाधीश भएपछी भण्डारी वरिष्ठ्ठ अधिवक्ता भएका थिए। वरिष्ठ अधिवक्ताको उपाधी सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठकको निर्णयले दिने चलन छ। यसपालि २ सय भन्दा बढी वकिललाई सर्वोच्चले वरिष्ठताको उपाधी दिएको थियो।
भण्डारीले उनलाई नरिसाउन फेरिपनि सुझाए तर पराजुलीले फोन काटे।
मंगलबार भने भण्डारीको शंखमूलस्थित ल फर्ममा अर्को घटना घट्यो। दिउँसो २ बजे तिर दुई जना अग्लो कदका मानिसहरु आएर 'सुरेन्द्र भण्डारी हुनुहुन्छ?'भन्दै सोधे।
उनको अफिसका स्टाफले हुनुहुन्न भन्ने जवाफ दिए।
'मेरो अफिसका साथिहरुले त्यसपछी उनीहरुलाई तपाईँ कोहो भनेर सोधेछन्। 'हामी कोहो त उहाँलाई चिनाइदिन्छौँ हामीले जान्या छ' भनेर गएछन्,' भण्डारीले भने, 'प्रधानन्यायाधीशले कहिले मार्छू त कहिले के भन्दै धम्क्याएको बेला ती मानिसहरु आएका छन्। हिजो म ल फर्ममा भएको भए के हुन्थ्यो थाहा छैन। त्यसैले सुरक्षा माग्दै आज मैले निवेदन दिएको हुँ,' भण्डारीले भने।
बुधवार विहान जिल्ला प्रशासन काठमाडौँमा उनले पराजुलीले धम्की दिएको भन्दै आफ्नो सुरक्षा गरिदिन निवेदन गरेका छन्।
यसविषयमा सेतोपाटीले प्रधानन्यायाधीश पराजुलीसँग कुरा गर्न प्रयास गरेको थियो। हामीले उनको मोबाइलमा सम्पर्क गर्दा सुरुमा उनले सोधे, 'को बोलेको?'
'सेतोपाटीबाट फोन गरेको' भनेपछि, पराजुलीले भने, 'ए ए…।'
यति भनेपछि उनले सम्पर्क विच्छेद गरे।