नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समिति बैठकमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणबारे चर्चा भएको छ।
स्वराज दुईदिने भ्रमणका लागि आजै नेपाल आइपुगेकी छिन्।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा छिमेकी देशको विदेशमन्त्री नेपाल आएका बेला कस्ता विषयमा कुराकानी गर्ने भनेर छलफल भएको हो।
'छिमेकी देशको परराष्ट्र मन्त्री नेपाल आएको सन्दर्भमा राष्ट्रिय हितमा र वाम गठबन्धनले जनादेश प्राप्त गरेको सन्दर्भमा आफ्नो दृष्टिकोण राख्ने भन्ने कुरा भयो', श्रेष्ठले सेतोपाटीसँग भने।
बैठकमा दुई अध्यक्षले पार्टी एकताका विषयमा भैरहेको छलफलबारे ब्रिफिङ गरेका थिए।
'पार्टी एकताको बारेमा प्रश्न गर्न नमिल्ने, कसरी गर्ने भन्ने विषयमा मात्र छलफल हुने भन्ने ढंगले छलफल चलिराखेको छ', श्रेष्ठले भने, 'दुई नेताको अहिले जस्तै छलफल अझै केही समय गर्नुपर्ने कुरा भयो।'
बैठकले दुई नेताले जस्तै अन्य नेताहरुले पनि अनौपचारिक छलफल गर्ने समझदारी गरेको छ। दुई पार्टीबीचको एकताका लागि नेताहरुको व्यवस्थापनको प्रश्न समेत उठ्दै आएको छ। आगामी बैठकबाट संगठनात्मक र सैद्धान्तिक विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने श्रेष्ठले बताए।