प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज हुनु पर्ने माग राख्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ। प्रदेश २ को पहिलो बैठक जनकपुरमा बस्न लागेको दिन वीरगञ्ज बन्दको आह्वान गरिएको हो।
बिहानैदेखि वीरगञ्जका मूल सडकका पसल र लामो दुरीका सवारी साधन बन्द छन्।
सामान्य प्रदर्शन भए पनि अहिलेसम्म कुनै अप्रिय घटना नभएको पर्साका एसपी गणेश रेग्मीले जानकारी दिए।
यसअघि पनि वीरगञ्ज राजधानी माग्दै अनसनलगायतका कार्यक्रम हुँदै आएका थिए।
सरकारले प्रदेश नम्बर २ को अस्थायी मुकाम जनकपुरलाई तोकेको छ। अस्थायीमा मुकाममा पहिलो प्रदेश सभा बैठक बस्ने र प्रदेश सभाको दुई तिहाइ बहुमतले नै प्रदेशको स्थायी राजधानी तोक्ने व्यवस्था छ।
धनकुटा, वीरगञ्ज, दाङ र दीपायलमा पनि राजधानी माग्दै आन्दोलन भएका थिए। पछिल्लो समय वीरगञ्जबाहेकका ठाउँका स्थानीयले आन्दोलन फिर्ता लिएका छन्।