नेकपा एमालेको स्थायी कमिटीले मुख्यमन्त्रीका लागि संसदीय दलको चुनाव गर्ने निर्णय गरे पनि शीर्ष नेताहरुले प्रदेशको नेतृत्व सकभर सहमतिमा टुंगो लगाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्रीका आकांक्षीहरुले शीर्ष नेताहरुसँग आफ्ना पक्षमा निर्णय गरिदिन लबिङ तीव्र पारेपछि नेताहरुले आफैं मिलेर सहमतिमा टुंग्याउन भनेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले भने, ‘अध्यक्षले सुरुदेखि नै प्रदेशमा चुनाव लड्न गएका कुनै पनि सिनियर साथीहरुलाई मुख्यमन्त्रीको वचन दिनुभएको थिएन, त्यसैले अहिले पनि उहाँले भरसक सहमति गरेर प्रदेशमा नेतृत्व छान्नु नभए निर्वाचनबाटै चुनिने विधि अपनाउनु भनिराख्नु भएको छ।’
एमाले र माओवादीले ४ र २ मुख्यमन्त्री बाँडेकय छन्। एमालेको भागमा परेका प्रदेश नम्बर १, ३, ४ र ५ मध्ये १ र ३ मा अध्यक्ष ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षबीच तीव्र प्रतिष्पर्धा देखिएको छ।
पाँच नम्बर प्रदेशमा शंकर पोखरेल संसदीय दलको नेता सर्वसम्मत चुनिएका छन्।
प्रदेश नम्बर ४ मा ओली पक्षकै दुई नेता मुख्यमन्त्रीको दौडमा छन्।
पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङको मुख्यमन्त्रीमा दाबी छ। किरण ओली पक्षभित्रका पनि वामदेव गौतमसँग नजिक छन्।
प्रदेश नम्बर ४ मा सभामुख माओवादीलाई दिने सहमति भइसकेकाले यी दुई नेताको व्यवस्थापन गर्न एमालेलाई अप्ठेरो परेको छ।
चुनाव नै भयो भने पृथ्वीसुब्बा गुरुङ बलिया प्रतिष्पर्धी मानिन्छन्।
प्रदेश नम्बर १ र ३ मा भने अध्यक्ष ओली र नेता नेपाल पक्षका मुख्यमन्त्रीका दाबेदारबीच तीव्र प्रतिष्पर्धा छ।
प्रदेश नम्बर १ मा ओली निकट शेरधन राई र नेपाल पक्षका पार्टी सचिव भीम आचार्यबीच प्रतिष्पर्धा छ। राई र आचार्य दुबैले ओलीको मन्त्रीमण्डलमा रहेर काम गरिसकेका छन्।
त्यस्तै प्रदेश नम्बर ३ मा नेपाल पक्षकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र ओली पक्षबाट राजेन्द्र पाण्डेबीच मुख्य प्रतिष्पर्धा छ। यहाँ ओली पक्षकै डोरमणि पौडेल र केशव स्थापित पनि प्रतिष्पर्धामा छन्। स्थापित काठमाडौं महानगरपालिका पुर्वमेयर हुन् भने पौडेल हेटौंडा नगरपालिकाका पूर्वमेयर हुन्।
माधवकुमार नेपाल पक्षका कतिपय नेताहरुले शीर्ष नेताले सहमति गरी ३ नम्बर प्रदेशमा अष्टलक्ष्मी र १ नम्बरमा शेरधनलाई सर्वसम्मत बनाउनु पर्ने ‘लबिङ’ पनि गरेका छन्।
भीम आचार्यभन्दा अष्टलक्ष्मी शाक्य प्रति नेपाल पक्षको धेरै सहानुभूति रहेको र राजेन्द्र पाण्डेभन्दा शेरधन राईप्रति ओली पक्षको धेरै सहानुभूति भएकाले अन्त्यमा यस्तो सहमति हुन सक्ने उनीहरुको दाबी छ।
आचार्य नेता नेपालभन्दा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग बढी निकट हुन्। त्यस्तै पाण्डे नेपाल पक्षबाट उठेर पार्टी उपाध्यक्षमा पराजित भएका हुन्।
पछिल्लो केही समयदेखि मात्र उनी ओली पक्षसँग नजिकिएका हुन्। |
शीर्ष नेताहरुले सम्भव भएसम्म प्रदेश तहमै छलफल गरेर मुख्यमन्त्री र सभामुखमा सहमति जुटाउन निर्देशन दिएका छन्।
‘अहिलेसम्म त सबैको दाबी आफूले मुख्यमन्त्री पाउने नभए चुनाव लड्ने भन्ने नै छ तर अन्तिम समयमा प्रदेश १ र ३ का मुख्य प्रतिष्पर्धीबीच मुख्यमन्त्री र सभामुखमा सहमति हुने सम्भावना छ,’ ओलीनिकट ती नेताले भने।
तर मुख्यमन्त्रीका आकांक्षीहरु आफ्नो पक्षमा सहमति मान्ने नभए चुनाव लड्ने मुडमा छन्। १ नम्बर प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी आचार्यले पार्टीको स्थायी कमिटि बैठकमै प्रदेशमा चुनाव गरेरै मुख्यमन्त्री टुंग्याउनु पर्ने माग गरेका थिए।