मुख्यमन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुगेका छन्।
६ नम्बर प्रदेशको मुख्यमन्त्री को हुने भन्नेबारे फरक मत राख्दै आएका दुई पूर्वगृहमन्त्रीको मंगलबार साँझ बैठक बसेको हो। बैठकमा मिलेर मुख्यमन्त्रीको मुद्दा टुङ्ग्याउने सहमति भएको छ।
६ नं प्रदेशको समग्र समृद्धि र पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या हल गर्न तथा पिछडिएको प्रदेशलाई समृद्धिमा बदल्न एकरुपताका साथ अघि बढ्ने समझदारी भएको जनाइएको छ।
मुख्यमन्त्री चयन लगायतका विषयमा छलफल गर्न ६ नं प्रदेशमा रहेका पोलिटब्यूरो सदस्यहरुको बुधबार विहान ११ बजे बैठक बोलाइएको नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य तथा ६ नं प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिए। लामो समयदेखि फरक फरक तरिकाले आ–आफ्ना गतिविधि गरिरहेका दुवै पूर्वगृहमन्त्री मंगलबार साँझ एउटै कार्यक्रममा देखिएका हुन्।
मुख् मन्त्रीको दाबी कायम राखेका सांसदद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाहीले सहमतिको निर्णय आफ्नै पक्षमा हुने अपेक्षा गरेका छन्।