सरकारले राष्ट्रपतिले मनोनित गर्ने तीन जना राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने तयारी गरेको छ।
कानुन मन्त्री यज्ञबहादुर थापाले संविधानअनुसार नै सरकारले तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको सेतोपाटीलाई जानकारी दिए।
‘तीन जना राष्ट्रिय सभा सदस्य यही सरकारले सिफारिस गर्छ, कहिले र कसलाई गर्ने भने टुंगो लागेको छैन,’ मन्त्री थापाले भने।
चुनावपछि कामचलाउ भएको र केही दिनमै बहिर्गमन हुन लागेको सरकारले राष्ट्रिय सभा सदस्य सिफारिस गर्न नसक्ने कतिपयको तर्क छ।
मन्त्री थापाले भने सरकारले तर्कका आधारमा नभई संविधानअनुरुप काम गर्न लागेको बताए।
‘भन्नेले त यो सरकारले प्रदेश प्रमुख र प्रदेश अस्थायी मुकाम पनि तोक्न पाउँदैन भन्थे, तर हामीले संविधानअनुसार नै ती काम गर्यौं,’ मन्त्री थापाले भने, ‘राष्ट्रिय सभाका तीन सदस्य पनि सरकारले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ, हामी त्यही अनुसार गर्छौं।’ उनले सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्ने विश्वास पनि व्यक्त गरे।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। ५६ सदस्यका लागि बुधबार चुनाव भएर परिणाम आइसकेको छ।
संसदको ठूलो दल नेकपा एमालेले भने सरकारले गर्ने सिफारिसको विरोध गर्ने बताएको छ।
एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सभाका तीन सदस्य पनि सिफारिस गर्नु सरकारको निर्लज्जताको पराकाष्ठा हुने बताए।
‘कामचलाउ भइसकेको सरकारले जनमतप्राप्त सरकारको जसरी काम गर्दै आएको छ, राष्ट्रिय सभाका तीन सदस्य पनि सिफारिस गर्यो भने त्यो निर्लज्जताको पराकाष्ठा हुन्छ,’ ज्ञवालीले भने, ‘हामी त्यसको विरोध गर्छौं।’