मन्त्रिपरिषद् बैठकको बैठक अहिले चलिरहेको छ। आजको बैठकले राष्ट्रिय सभाका तीन सदस्य नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गर्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न लागेको मन्त्रिपरिषद् स्रोतले सेतोपाटीलाई जानकारी दियो।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचनबाट चुनिएर आउँछन् भने तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
बस्नेत झापाका कांग्रेस नेता हुन्। उनी कांग्रेस झापाका पूर्वसचिव हुन्। कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति बनेका थिए।
जोशी महिला विकासका लागि संयुक्त राष्ट्र संघीय कोष (युएनआइएफइएम) को दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन्। ७२ वर्षीया जोशीले पद्यकन्या क्याम्पसमा पनि प्राध्यापन गरेकी थिइन्।
कृष्णप्रसाद पौडल कांग्रेस केन्द्रीय कार्यालयका सचिव हुन्। स्याङ्जाका पौडेल यसअघि नेपाल शिक्षक संघ काठमाडौंका अध्यक्ष हुन्। उनी २ वर्षअघि केन्द्रीय कार्यालयका मुख्य सचिवमा नियुक्त भएका थिए।