प्रदेश नम्बर ३ र प्रदेश ५ मा सोमबार मुख्यमन्त्री नियुक्त हुने भएका छन्।
दुबै प्रदेशमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका हुन्। एमालेका मुख्यमन्त्रीका उम्मेद्वारले बहुमत सहित संसदीय दलको नेता चयन भएको जानकारी प्रदेश प्रमुखलाई दिन लागेका हुन्।
प्रदेश ३ को एमाले संसदीय दलका नेता डोरमणि पौडेलले आजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दावी सेतोपाटीलाई बताए। उनी गत शुक्रबार प्रदेश ३ को एमाले संसदीय दलको नेतामा निर्वाचित भएका थिए। एमालेले प्रदेश ३ मा एकल बहुमत ल्याएको छ।
संविधानमा बहुमत ल्याउने दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्ने व्यवस्था रहेको छ।
‘आजै संसदीय दलको नेता चयन भएको जानकारी गराउँछौं’, पौडेलले सेतोपाटीसँग भने, ‘भोलि सपथ गर्ने कुरा भएको छ।'
प्रदेश ५ मा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्दैछन्। त्यहाँ एमाले र माओवादी केन्द्रले मिलेर प्रदेश सरकार बनाउन लागेका हुन्।
‘दुबै दल एकसाथ प्रदेश प्रमुखलाई भेटेर बहुमत रहेको पत्र दिदैछौँ’, पोखरेलले भने, ‘भोलि सपथ हुनसक्छ।'
प्रदेश १ मा पनि एमालेले एकल बहुमत ल्याएको छ। एमालेले त्यहाँ शेरधन राईलाई संसदीय दलको नेता चयन गरिसकेको छ। राईले सभामुख चयनको प्रक्रिया टुङ्गो लगाएपछि मात्र मुख्यमन्त्रीको दाबी गर्ने बताए।
प्रदेश ६ मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले फागुन ३ गते मात्र मुख्यमन्त्रीमा दाबी गर्ने सेतोपाटीलाई जानकारी दिए।
'भोलि सभामुख चयन गर्छौं’, शाहीले भने, ‘त्यसपछि हामी बहुमत रहेको दाबीसहित प्रदेश प्रमुखलाई पत्र दिनेछौँ।'
प्रदेश ६ र ७ मा माओवादी केन्द्रले एमाले समर्थनमा सरकार बनाउने छ।
संविधानको धारा १६८ को उपधारा ८ अनुसार प्रदेश सभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नु पर्छ।