प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा मनोनयन हुने तीन जनाको नाम राष्ट्रपति कार्यायलमा सिफारिश गरेका छन्।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम सिफारिश गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो।
देउवाले सोही दिन गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेललाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गरेका हुन्।
‘प्रधानमन्त्री कार्यालयको पत्र शनिबार राष्ट्रपति कार्यालयमा आइपुगेको हो, हिजो बिदा परेकाले आजमात्र दर्ता भयो,’ राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सेतोपाटीसँग भने, ‘सिफारिशका सम्बन्धमा कार्यालयले आवश्यक अध्ययन गरी उपयुक्त समयमा उपयुक्त निर्णय गर्नेछ।’
सिफारिश भएकामध्ये बस्नेत झापाका कांग्रेस नेता हुन्। उनी कांग्रेस झापाका पूर्वसचिव हुन्। कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति बनेका थिए।
जोशी महिला विकासका लागि संयुक्त राष्ट्र संघीय कोष (युएनआइएफइएम) को दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन्। ७२ वर्षीया जोशीले पद्यकन्या क्याम्पसमा पनि प्राध्यापन गरेकी थिइन्।
कृष्णप्रसाद पौडल कांग्रेस केन्द्रीय कार्यालयका सचिव हुन्। स्याङ्जाका पौडेल यसअघि नेपाल शिक्षक संघ काठमाडौंका अध्यक्ष हुन्। उनी २ वर्षअघि केन्द्रीय कार्यालयका मुख्य सचिवमा नियुक्त भएका थिए।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचनबाट चुनिएर आउँछन् भने तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
चुनावपछि कामचलाउ भएको र केही दिनमै बहिर्गमन हुन लागेको सरकारले राष्ट्रिय सभा सदस्य सिफारिस गर्न नसक्ने कतिपयको तर्क छ।
संसदको ठूलो दल नेकपा एमालेले भने सरकारको सिफारिसको विरोध गर्ने बताएको छ।
एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सभाका तीन सदस्य पनि सिफारिस गर्नु सरकारको निर्लज्जताको पराकाष्ठा भएको बताए।
‘कामचलाउ भइसकेको सरकारले जनमतप्राप्त सरकारको जसरी काम गर्दै आएको छ, राष्ट्रिय सभाका तीन सदस्य पनि सिफारिस गर्नु निर्लज्जताको पराकाष्ठा हो,’ ज्ञवालीले भने, ‘हामी त्यसको विरोध गर्छौं।’