प्रदेश नं. ६ को प्रदेशसभा सभामुखमा एमालेका राजबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। सोमबार बसेको प्रदेश सभाको दोस्रो बैठकले शाहीलाई सर्वसम्मत् रूपमा सभामुखमा चयन गरेको हो।
सभामुख मनोनयन दर्ताका लागि आईतबार तोकिएको समयभित्र शाहीको एकल उम्मेदवारी परेको थियो । सभामुख शाही एमालेको तर्फबाट दैलेख क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित् भएका थिए।
सभामुख शाहीले आजै ४ बजे पद तथा गोपनीयताको सपथ लिएका हुन्। प्रदेश प्रमुख दुर्गाकेशर खनालले उनलाई सपथ खुवाउने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
को हुन् सभामुख शाहीआफूले भोगेका पीडालाई ‘समयको खेल’ बताउने शाही दैलेखको ठाँटीकाँध गाउँपालिका–६ (साविकको तोलीजैसी गाउँ विकास समिति–७) स्थित छडाथान भन्ने गाउँमा जन्मिएका हुन्।
उनले सशस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही नेकपा माओवादीबाट धेरै दुःख पाए। उनले मानसिक यातनासँगै शारीरिक यातना पनि पाए। द्वन्द्वका क्रममा सर्वश्व हरणमा परेका शाहीको परिवार गाउँबाट विस्थापित भयो।
२०२६ सालमा जन्मिएका शाहीले २०३९ सालदेखि नै राजनीतिक यात्रा शुरू गरेका थिए। २०४७ सालमा उनी नेपालगञ्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष बने।
यस्तै शाहीले २०५२ सालमा नेकपा एमालेमा प्रवेश गरे भने २०५४ मा भएको स्थानीय निकायको निर्वाचनबाट एमालेका तर्फबाट तोलीजैसी गाविसको अध्यक्षमा निर्वाचित भए। नेकपा एमालेको नवौँ अधिवेशनसम्म अञ्चल समन्वय कमिटीको सदस्य रहेका शाही अहिले भने पार्टीको जिम्मेवार पदमा छैनन।