पाँच वटै राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनबाट सांसद हुनेको सूची निर्वाचन आयोगलाई बुझाएका छन्। नेकपा एमालेले आइतबार नै आयोग पुगेर समानुपातिक तर्फको ४१ सांसदको सूची बुझाएको थियो। अन्य चार दलले भने आज आयोगमा पुगेर समानुपातिकको सूची बुझाएका हुन्।
प्रतिनिधि सभाको १ सय १० सिट समानुपातिक निर्वाचन प्रमाली मार्फत निर्वाचित हुन्छन्। जसमध्ये नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७ तथा राजपा र संघीय फोरमले ६/६ सिट जितेका थिए।
आयोगले दलहरुलाई समानुपातिकको सूची बुझाउन तीन दिनको समय दिएको थियो। आयोगले एमाले र संघीय फोरमको सूचीमा क्लष्टरको समस्या नदेखिएको जनाएको छ।
दलहरुले सूची बुझाउँदा क्लष्टर नमिलाएको देखिए आयोगले सच्याउन पत्राचार गर्छ। आयोगले दलहरुलाई सच्याउन दुई दिनको समय दिनेछ। आयोगका प्रवक्ता नवराज ढकालले सूची मिले नमिलेको बारे आयोगले अध्ययन गरिरहेको बताए।