पार्टी एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पनि 'वान टु वान' छलफल गर्ने भएका छन्।
दुई नेताहरुबीच दिउँसो भेट हुने बताइएको छ। तर समय र स्थान भने तोकिएको छैन।
स्रोतका अनुसार दुई नेताबीच दिउँसो दुई बजेपछि भेट हुनेछ।
‘जनयुद्ध दिवस’को अवसरमा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमपछि दुई अध्यक्षबीच भेट हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।
यसअघि सोमबार दुई नेताहरूले सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने सहमति गरेका थिए।
दुबै नेता नयाँ पार्टीको सहअध्यक्ष हुने र सरकारको नेतृत्व पनि आलोपालो गर्ने पनि सहमति भएको छ।
सो विषयमा थप निर्णय गर्न दुई नेताबीच आज फेरि छलफल हुन लागेको हो।
ओली र प्रचण्डबीच भएको सहमतिलाई एकता संयोजन समितिको बैठक बसेर अन्तिम रूप दिने नेताहरूले बताएका छन्।
संयोजन समितिको बैठक बुधबार बस्ने सम्भावना छ।