नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार केही घन्टामै काठमाडौं र चितवनका कार्यक्रममा सहभागी भए।
बिहान १२ बजे उनी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित ‘जनयुद्ध’ को वार्षिकोत्सवमा सहभागी थिए। उनले त्यहाँ सम्बोधन पनि गरे।
त्यसको केही घन्टा नबित्दै उनको फेसबुक पेजमा लाइभ भिडियो आयो। भिडियोमा प्रचण्ड एउटा विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गरिरहेका थिए।
भरतपुर ९ को शरदपुर माविको वार्षिक उत्सवमा सहभागी हुन प्रचण्ड हेलिकोप्टर चार्टर गरेर चितवन पुगेका थिए।
उनी चढेको मनाङ हेलीको हेलिकोप्टर विद्यालयको प्रांगणमा अवतरण भएको थियो।
हेलिकोप्टरबाट उत्रेर प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरे र विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे।
तीन नबज्दै उनी हेलिकोप्टर चढेर काठमाडौं फर्किए।
आजै प्रचण्डले पार्टी एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्दैछन्।
काठमाडौंदेखि भरतपुरसम्म हेलिकोप्टर चार्टर गर्दा एकतर्फी भाडा कम्तिमा लाख पचास हजार रुपैयाँ लाग्छ।