ललतिपुर-२ बाट निर्वाचित नवराज सिलवालविरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार किर्ते मुद्दा दर्ता गर्ने तयारी गरेको छ। मुद्दा दर्ता भए पनि सिलवाल सांसद बन्न कुनै कानुनी अड्चन हुँदैन।
नेपाल प्रहरीका पूर्व डिआईजी सिलवाल विरुद्ध कार्यसम्पादन मुल्याङ्कन किर्ते गरेको अभियोगमा मुद्दा दर्ताको तयारी भैरहेको छ। तर संविधान अनुसार उनको पद फौजदारी अभियोग प्रमाणित भएमा मात्र गुम्नेछ।
संविधानको धारा ८७ को (ग)मा ‘नैतिक पतन देखिने वा फौजदारी कसूरमा सजाय नपाएको’ व्यक्ति सांसद बन्न योग्य हुने उल्लेख छ। संघीय संसद सचिवालयका कानुनी सल्लाहकार अर्जुन खड्काले मुद्दा दर्ताकै भरमा सिलवालको सांसदको सपथ नरोकिने बताए।
‘अदालतबाट आदेश वा कुनै पत्र नआएसम्म संघीय संसद सचिवालयले निलम्बन गर्ने वा कुनै कारवाही गर्ने कुरा हुदैँन’, खड्काले सेतोपाटीसँग भने। तर प्रहरीले पक्राउ गरेर मुद्दा अगाडि बढाएर अदालतबाट पत्र पठाएको अवस्थामा भने उनको पद निलम्बनमा पर्नेछ।
तत्कालीन नेकपा माओवादी केन्द्रका सांसद ल्याहरक्याल लामालाई प्रहरीले १४ थान गोलीसहित पक्राउ गरेको थियो। पक्राउपछि हातहतियार तथा खरखजानाको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।
अदालतको पत्रपछि मात्र उनको पद निलम्बनमा परेको थियो। सद्भावनाका सञ्जय टक्लालाई पुर्पक्षमा थुनामा राख्न धनुषा जिल्ला अदालतले आदेश दिएपछि दोश्रो संविधानमा उनको पद निलम्बनमा परेको थियो।
अदालतबाट दोषी ठहर नभएसम्म निलम्बनमा परे पनि फुकुवापछि सांसद हुन पाउँछन्। सिलवाल भने हालसम्म फरार छन्। प्रहरीले उनलाई किर्ते मुद्दामा खोजी गरिरहेको छ।