नेकपा एमाले र माओवादी केन्दले दुई अध्यक्षबीच पार्टी एकता र सरकार सञ्चालनका सम्बन्धमा भएको सहमतिलाई आजै लिखित रूप दिन तयारी थालेका छन्।
एकतापछि बन्ने पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल सहअध्यक्ष हुने, प्रधानमन्त्री आलोपालो गरी चलाउने र नयाँ पार्टीको महाधिवेशन नभएसम्म जनताको बहुदलीय जनवाद र माओवादलाई पार्टीका वैचारिक कार्यदिशा मानेर जाने विषयमा सोमबार ओली र दाहालबीच सहमति भएको थियो।
सोही सहमतिअनुसार आज दुबै नेताले पार्टी बैठकमा ब्रिफिङ गरेका थिए।
माओवादीले खुमलटारमा हेडक्वाटर बैठक गरेको थियो भने एमाले स्थायी समितिको बैठक मानभवनमा बसेको थियो।
अहिले ओली र दाहालबीच फेरि वान टु वान वार्ता हुँदैछ।
त्यसपछि बस्ने एकता संयोजन समितिको बैठकले सहमतिलाई लिपिबद्ध गर्ने तयारी भएको संयोजन समिति सदस्यसमेत रहेका एक माओवादी नेताले सेतोपाटीलाई बताए।
एमाले नेता सुरेन्द्र पाण्डे स्थायी समिति बैठकमा अध्यक्ष अोलीले दाहालसँग भएको सहमतिबारे ब्रिफिङ गरेको जानकारी दिए।
एमाले नेताहरूले भने सहमति पत्रमा आजै हस्ताक्षर हुने सम्भावना कमै भएको बताएका छन्।