नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणपछिको संगठनात्मक र सैद्धान्तिक विषय टुङ्गो लगाउन दुई कार्यदल बनाउने निर्णय गरेको छ।
मानभवन स्थित एक निजी निवासमा बसेको बैठकले कार्यदलमा रहने सदस्यको नाम भने टुङ्गो लगाएको छैन। बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले भोली मात्र कार्यदलमा रहने सदस्यहरुको नाम टुङ्गो लाग्ने बताए।
सरकार गठन अघि नै पार्टी एकताको टुंगो लगाउने गरि दुवै पार्टीका अध्यक्षले मंगलबार सहमति जुटाएका थिए। दुई पार्टीबीच प्रधानमन्त्रीमा आलोपालो र दुइ सह अध्यक्ष बनेर पार्टी एकतासम्म पुग्ने समझदारी भैसकेको छ।
'बैठकबाट हामीले ९५ प्रतिशत काम सक्यौँ अब ५ प्रतिशत बाँकी छ,' एमाले उपाध्यक्ष गौतमले भने, 'भोली सबै टुङ्गो लाग्छ।'
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि बिहिबार एकताको विषयमा टुङ्गो लाग्ने बताए। उनले संगठनात्मक विषयमा पनि छलफल भएको तर ठोस निर्णय नभएको उल्लेख गरे।
संयोजन समितिको बैठक चार घण्टा चलेको थियो।