नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको निर्णायक बैठक बिहीबार बस्ने जनाएका छन्।
दुई पार्टीले बिहिबार नै राष्ट्रपति समक्ष बहुमत सहित प्रधानमन्त्रीको दावी समेत प्रस्तुत गर्ने भएका छन्। बुधबार दुवै दलका अध्यक्षले दुई पटक एक्लाएक्लै छलफल गरेका थिए भने दुवै पार्टीको आन्तरिक बैठक समेत बसेको थियो। पार्टीको आन्तरिक बैठकमा दुवै पार्टीका अध्यक्षले एकताको मोडालिटीमा जुटेको समझदारीको ब्रिफिङ गरेक थिए। दुवै अध्यक्ष सह-अध्यक्ष हुने र आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीको ब्रिफिङ बैठकमा नेताहरुले गरेका थिए।
पार्टीको आन्तरिक बैठकपछि बसेको एकता संयोजन समिति बैठक चार घण्टा चलेको थियो। निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको ललितपुरको मानवभवन स्थित घरमा बसेको बैठकपछि नेताहरुले बिहीबार एकताको विषयमा टुङ्गोमा पुगिने जानकारी गराए।
बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले संगठनात्मक विषयमा निर्णय लिन एउटा र सैद्धान्तिक वैचारिक विषय मिलाउन अर्को कार्यदल निर्माण हुने बताए। तर कार्यदलमा रहने सदस्यहरुको नाम टुङ्गो भोली मात्र लाग्ने उनले उल्लेख गरे।
गौतमकै शब्दमा एकताको ९५ प्रतिशत काम सकिएको छ।
पत्रकारले घेरा हालेर प्रश्न सोधेपनि एमाले बरिष्ट नेता झलनाथ खनालले छलफल बाँकी रहेकाले भोली पनि हुने जवाफ दिए। उनले 'सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भएको हो', भन्ने पत्रकारको प्रश्नमा समेत कुनै जवाफ फर्काएनन्।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने पार्टीको संगठनात्मक विषयमा छलफल चलिरहेको सम्म खुलाए। तर उनले बाँकी केही बताएनन्। बरु घुमाउरो राजनितिक भाषामा पत्रकारको जिज्ञासा टार्ने कोशिस गरे।
'गम्भीर्ता पूर्वक सकरात्मक कुरा भएको छ', श्रेष्ठले भने, 'कुरा मिलिराखेको छ। छलफल भैराखेको छ। अन्तिम रुप दिन भोली मात्र बस्छौँ।'
श्रेष्ठले भोली नै एकता संयोजन समिति बैठक बस्ने र सरकारको नेतृत्व दावी गर्ने पनि बताए। उपाध्यक्ष गौतमले पनि सरकारको नेतृत्व दावी गर्ने जिम्मेदारी दुई अध्यक्षलाई दिइएको उल्लेख गरे।
'निर्वाचन आयोगले परिणाम बुझाइसकेको छ', गौतमले भने, 'अब उहाँहरुले भोली नै पनि दावी गर्न सक्नुहुन्छ।'