नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको समर्थनमा प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन्। राष्ट्रपति भवन शितल निवास पुगेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बहुमतको दावी प्रस्तुत गरेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले दुई दलको तर्फबाट केपी शर्मा ओलीको दावी प्रस्तुत भएको जानकारी दिए। एमालेले स्थायी समितिको निर्णयसँगै माओवादीको समर्थनको पत्र द्ई दलले राष्ट्रपतिलाई बुझाएका हुन्।
संविधानको धारा ७६ अनुसार कुनै पनि दलले एकल बहुमत नल्याएको अवस्थामा दुई दलले कुनै प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमत रहेको दावी प्रस्तुत गर्न सक्छन्। दावी गरेको दलको संसदमा बहुमत रहे नहरेको राष्ट्रपतिले हेरेर प्रधानमन्त्रीमा नियुक्ती गर्नेछिन्। नियुक्त भएका प्रधानमन्त्रीले संसदमा तीस दिन भित्र विश्वासको मत लिनुपर्नेछ।
बहुमत दाबी गर्न ओलीसहित नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव बिष्णु पौडेल शितलनिवास पुगेका थिए। माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ पनि शिलत निवास पुगेका थिए।
राष्ट्रपति कार्यालयका अनुसार आजै नयाँ प्रधानमन्त्री नियुक्ती र सपथको तयारी भैरहेको छ। 'समय टुंगो लागिसकेको छैन', राष्ट्रपति कार्यालय स्रोतले भन्यो।
यसअघि बुधबार बसेको एमाले स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
ओली दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्। यसअघि २०७२ असोजमा उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए।