नेकपा माओवादी केन्द्रले केपी शर्मा ओलीको सरकारमा आज मन्त्री नपठाउने भएको छ।
नवनियुक्त प्रधानमन्त्री ओलीले ४ बजे प्रधानमन्त्रीको सपथ लिदैँछन्। सपथलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको तयारी छ।
माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन्।
नेकपा माओवादी केन्द्रका एक नेताले सेतोपाटीसँग कुरा गर्दै पार्टी एकताको विषय टुङ्गोमा नपुगेकाले तत्कालै सरकारमा मन्त्री नपठाउने बताए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज निर्णायक छलफल हुने नेताहरूले बताएका थिए। तर ओली प्रधानमन्त्री बन्ने भएपछि छलफल समेत अनिश्चित बनेको छ।
एकतापछि सहअध्यक्ष र आलोपालो प्रधानमन्त्रीमा दुई दलबीच सहमति भैसकेको छ। पार्टी एकताको मोडालिटी र सैद्धान्तिक विषयमा कुरा मिल्न बाँकी छ। बुधबारको छलफलपछि एमाले उपाध्यक्ष बामदेव गौतमले एकतामा ९५ प्रतिशत सहमति जुटेको बताएका थिए।
नेकपा माओवादी केन्द्रले पार्टी एकताको विषय टुङ्गिएपछि मात्र सरकारमा सामेल हुने मन्त्रीको नाम तय गर्ने जनाएको छ।