नेकपा एमालेका अध्यक्ष एंव नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदलाई दुर्व्यसनमा नलाग्न निर्देशन दिएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पार्टी कार्यलयमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई आचरण र पहिचानको विषयसमेत निर्देशन दिएका हुन्।
निर्वाचनबाट नयाँ सांसदहरू आएको उल्लेख गर्दै उनले संसदीय आचरण सिक्न समेत आग्रह गरे।
‘पहिरनमा संकीर्ण सोच राख्ने होइन। कस्तो अवस्थामा कुन पहिरन ख्याल गर्नुपर्छ’, ओलीले भने, ‘देख्दा पनि माननीय रहेछ भन्ने हुनुपर्छ, लोगो लगाएको हुनुपर्यो। चिनिने हुनुपर्छ। दुर्व्यसनले फाइदा गर्दैन। आफ्नो विषयमा अध्ययन गर्ने गर्नुस्।‘
ओलीले सपथ ग्रहणमा आउँदा पुरुष सांसदहरुले दौरा सुरुवाल र महिला सांसदलाई सकभर साडी चोलोमा आउन सुझाए।
उनले माननीयले संसदमाआउने हाजिर गर्ने जाने मात्र नभई विषयमा तयारी पनि गर्नु पर्ने बताए।
‘कतिपय विषयमा संसदीय दलले ह्विप जारी गर्छ। ह्विप पालना गर्नु कर्तव्य हो। अनुशासनमा बस्नैपर्छ। लागेको कुरा नेतृत्वसँग भन्नुस् बैठकमा बस्नुस्। भोट हाल्दा भने ह्विप अनुसार त्यहिँ हाल्नुपर्छ। विचार व्यक्त गर्दा त्यसैगरि गर्नुपर्छ,' उनले भने।
उनले विदेश जाने र जिल्ला भ्रमणमा जाने विषयमा समेत संसदीय दललाई जानकारी दिन आग्रह गरे।
‘कतिपय साथीहरू विदेश गएको थाहा नहुने, त्यस्तो खालको स्थिति हुनु हुदैँन’, ओलीले भने, ‘विदेश जाँदा, जिल्ला जाँदा सचेतकलाई जानकारी गराउनुपर्छ।'
संसदीय दलको बैठकले ओलीलाई नेता चयन गरेको छ।