प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। मोदीले फागुन गए राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन्।
टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताए। यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता महामहिम मोदीले व्यक्त गरेका छन्।
टेलिफोन संवादमा प्रधामन्त्री ओलीले मोदीलाई आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्। यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि महामहिम मोदीलाई बताए।
यसैबीच मोदीले भारतीय राजदूत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गरेका छन्। साथै ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गरेका छन्।
शुभकामना पत्रमा महामहिम मोदीले नेपाल र भारतको प्रगाढ विश्वास,सद्धभाव र पारस्परिक विस्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकाश गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।
यसैबीच भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छन्।