प्रदेश नं. ६ मा समावेशी सरकार बनाउन चुनौति देखिएको छ। प्रदेश नं. ६ मा वाम गठबन्धनले सरकार बनाउँदैछ। सरकार गठनका लागि वाम गठबन्धनभित्र नेकपा एमालेले ४ र माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्री पाएको छ।
माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही यसअघि नै नियुक्त भइसकेका छन्। यस्तै माओवादीले अन्य दुई जनाको टुंगो लगाइसकेको छ।
माओवादीले जुम्लाका सांसद नरेश भण्डारी र रूकुमका सांसद् विमला केसीलाई सरकारमा पठाउने गरि नाम टुंगो लगाएको हो।
जम्मा सदस्य संख्याको २० प्रतिशत समावेश हुने गरि सरकार निर्माण गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश नं. ६ मा सभामुखबाहेक मुख्यमन्त्रीसहित सात जनाको मन्त्री मण्डल बन्छ।
समावेशी सरकार बन्न, महिला, दलित र जनजातिको पनि सहभागिता हुनुपर्ने अवस्थामा प्रदेश नं. ६ मा कम्तिमा एक/एक जना समावेश गर्नुपर्ने हुन्छ।
सरकारमा सहभागी हुन माओवादीले विमला केसीलाई छानेपछि सरकारमा महिलाको सहभागिता भने पक्का भएको छ। अब सरकारमा दलित र जनजाति आवश्यक छ। माओवादीबाट टुंगो लागिसकेकाले अब बाँकी मन्त्री एमालेबाट छानिनुपर्नेछ।
नेकपा एमाले सरकारमा मन्त्री पठाउने विषयमा छलफलमै जुटेको छ। शुक्रबार नै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरिए पनि एमालेले नाम टुंगो लगाउन ढिलाई गरेपछि हुन सकेको थिएन।
सानो आकारको सरकार बनाउनुपर्ने भएकाले पनि समावेशी बन्नेमा चुनौति छ। माओवादीले पाउनुपर्ने मन्त्रीको टुंगो लगाइसकेकाले अब एमालेले दलित र जनजातिको प्रतिनिधित्व हुने गरि मन्त्री बनाउनुपर्नेछ।
एमालेभित्र प्रकाश ज्वाला, दल रावल, गुलाबजंग शाह, मीना रखाल, खड्गबहादुर खत्री, सुशील थापा, बद्मीक्वारी बोहोरालगायतको नाम चर्चामा छ।
यदि समावेशी सरकार बनाउने हो भने एमालेले चर्चामा आएका नामहरुमध्ये मीना रखाललाई सिफारिस गर्नैपर्ने हुन्छ।
एमाले सांसद प्रकाश ज्वालाले समावेशी सरकार बनाउन महिला, दलित र जनजातिको प्रतिनिधित्वलाई सम्बोधन गर्नुपर्नेमा जोड् दिएका छन्।
यता, माओवादी केन्द्रबाट मन्त्रीका लागि छानिएकी विमला केसीले समानुपातिक समावेशीताको नारा बचाउन चुनौति देखिएको बताइन्। ६ नं. प्रदेशमा गठन हुने सरकारमा सबैको प्रतिनिधित्व हुने लक्षण नदेखिएको भन्दै उनले समावेशी सरकार बन्नेमा शंका व्यक्त गरिन्। ‘जति ठूलो कुरा गरे पनि समानुपातिक समावेशिताको नारा बचाउन सक्नेमा चुतौति देखिन्छ,’ उनले भनिन्, ‘मैँले सरकारमा समान प्रतिनिधित्वका लागि एमालेसँग पहिलेदेखि नै बुझिराखेको थिएँ, खासै चित्त बुझ्दो जवाफ आएन, एमालेबाट समावेशी सरकारको लागि प्रतिनिधित्व गराउने सम्भावना कम छ।’
प्रदेश ६ मा प्रदेशसभाका ४० जना सांसदहरुमध्ये १९ जना मात्र खुलातर्फका छन्। बाँकी महिलातर्फ १३, दलिततर्फ ६, जनजातीतर्फ २ जना सांसद् छन्।
प्रदेश नं. ६ मा जनजातितर्फ पुष्पा घर्ती र दिनबन्धु श्रेष्ठ छन्। दलिततर्फ दानसिं परियार, रातो कामी, झोवा विक, राजु नेपाली, मिना रखाल, सिता नेपाली छन्।
यस्तै, प्रदेश महिलातर्फ बद्मीक्वारी बोहरा, सोशिला शाही, मिना रखाल, अमृता शाही, पद्मा खड्का, राजु नेपाली, सिता नेपाली, पुष्पा घर्ती, कृष्णा शाह, कौशिला खत्री, विमला केसी र झोवा कामी छन्।
माओवादीले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाइसके पनि एमालेले भने शनिबार राति वा आईतबार बिहानसम्म टुंगो लगाइसक्ने बताएको छ।
वाम गठबन्धनले आईतबार नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ।