नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताका विषयमा चार घन्टा छलफल भएको छ।
भक्तपुरको ठिमीमा रहेको मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंको घरमा उनीहरुबीच वार्ता भएको थियो।
उनीहरूले दिउँसो खाना पनि प्रसाईंकै घरमा खाएका थिए।
छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले पुन: दुई नेताबीच वान टु वान वार्ता हुने जानकारी दिए।
प्रसाईं बिर्तामोड झापाको बिएण्डसी अस्पतालका सञ्चालक हुन्। प्रसाईं सशस्त्र युद्धदेखि नै माओवादीसँग नजिक छन्। उनको प्रचण्डसँग निकट सम्बन्ध छ।
पछिल्लो समय २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रसाईंको अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिने प्रक्रिया अघि बढाएका थिए।
प्रसाईंलाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया डाक्टर गोविन्द केसीको आन्दोलनका कारण रोकिएको थियो।
डाक्टर पछिल्लो अनसनको समयमा एउटा टेलिभिजन अन्तर्वार्तामा प्रसाईंले केसी नै मेडिकल माफिया भएको बताएका थिए।
ओली प्रधानमन्त्री हुनुअघि ललितपुरको मानभवनस्थित व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा दुई नेताबीच गोप्य छलफल हुन्थ्यो।
ओली प्रधानमन्त्री भएपछि छलफलका लागि प्रचण्ड शनिबार उनको निजी निवास पुगेका थिए।
आज भने दाहाल र ओलीले छलफलका लागि प्रसाईंको घर रोजेका हुन्।
बैठकपछि प्रसाईंले यसअघि पनि अाेली र प्रचण्ड यही बसेर सम्बन्ध सुध्रिएको प्रतिक्रिया दिए। 'उहाँहरू फेरि बस्नुहुन्छ। निकै सकरात्मक भएको र छिट्टै याे टुंगो लगाउछाै भन्नुभएको छ।उहाँहरू दुई मात्रै बस्नुभएकाे हाे,' प्रसाईंले भने, 'मलाई त मेडिकल माफिया भनेरसमेत समाचार हालेका छन अरे कतिले।मेची अञ्चलमा हाे मेडिकल कलेज खाेल्न लागेको।'